जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८, साँडीघाँटीमा सोमबार (पुस २८) बिहान जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
मोतिनगरबाट डडेलधुरातर्फ जाँदै गरेको म१ज २२४ नम्बरको बोलेरो जीप सडकबाट करिब ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
दुर्घटनामा परेर तीनजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए। मृतक तीनैजना पुरुष रहेका भए पनि उनीहरूको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक सिंहका अनुसार जीपमा कति जना सवार थिए भन्ने खुल्न सकेको छैन।
दुर्घटनामा घाइते भएका व्यक्तिहरूलाई उपचारका लागि डडेलधुरा अस्पताल पठाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

