भारतले नेपाली तयारी चियाको आयातमा नयाँ मापदण्ड लागू गरेपछि इलामका चिया उद्योगीहरूले आगामी असार १ गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेका छन्।
५३ उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनले भारतीय चिया बोर्डले हालै जारी गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) का कारण नेपाली चिया निर्यात गम्भीर रूपमा प्रभावित भएको जनाएको छ।
एसोसिएसनका अनुसार नयाँ व्यवस्थाअन्तर्गत गुणस्तर परीक्षणका जटिल प्रक्रिया, अपारदर्शी परीक्षण नतिजा, भण्डारण सुविधाको अभाव तथा अन्य प्रशासनिक अवरोधका कारण नेपालबाट भारततर्फ चिया निर्यात गर्न कठिन भएको छ।
हाल भारतीय बजारमा पुगेको करिब दुई लाख किलोभन्दा बढी तयारी चिया भारतीय गोदाममै रोकिएको छ भने नेपालका उद्योगहरूमा १० लाख किलोभन्दा बढी तयारी चिया थन्किएको अवस्थामा रहेको एसोसिएसनले जनाएको छ।
उद्योगीहरूका अनुसार भारतीय चिया बोर्डले परीक्षणका लागि लगेको चियाको नमुना रिपोर्ट महिनौँसम्म उपलब्ध गराउँदैन। साथै परीक्षणको नतिजामा गुणस्तरहीन ठहरिएमा सम्बन्धित चियालाई भारतीय गोदाममै नष्ट गर्नुपर्ने व्यवस्था समेत रहेको छ, जसलाई उद्योगीहरूले अव्यावहारिक र जोखिमपूर्ण नियमका रूपमा लिएका छन्।
एसोसिएसनले जारी गरेको विज्ञप्तिमा यी समस्याका कारण उद्योगहरूको नगद प्रवाह प्रभावित भएको, किसानहरूलाई हरियो चियापत्तीको भुक्तानी गर्नसमेत कठिन भएको उल्लेख गरिएको छ।
“भारतीय चिया बोर्डले परीक्षणका लागि लगेको चियाको नमुना रिपोर्ट महिनौँ दिनसम्म पनि दिँदैन। यदि रिपोर्ट आउँदा गुणस्तरहीन देखिएमा उक्त चियालाई भारतीय गोदाममै नष्ट गर्नुपर्ने जस्ता अव्यावहारिक नियमहरू थपिएका छन्,” विज्ञप्तिमा भनिएको छ।
एसोसिएसनले थपेको छ, “यी समस्याका कारण उद्योगहरूले किसानलाई भुक्तानी दिन नसक्ने अवस्था सिर्जना भएको छ। यस्तो विषम परिस्थितिमा उद्योग सञ्चालन गर्न असम्भव भएकाले आगामी २०८३ असार १ गतेदेखि सम्पूर्ण उद्योग बन्द गर्न बाध्य भएका छौँ।”
उद्योग बन्द हुने निर्णय कार्यान्वयन भएमा इलामसहित पूर्वी नेपालका हजारौँ चिया किसान, श्रमिक तथा चिया व्यवसायमा निर्भर परिवार प्रत्यक्ष प्रभावित हुनेछन्।

