अमेरिकाले डाइभर्सिटी भिजा (डीभी) कार्यक्रम अस्थायी रूपमा स्थगित गरेको छ। स्थानीय समयअनुसार बिहीबार अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) ले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनअनुसार तत्काल लागू हुने गरी कार्यक्रम रोक्ने निर्णय सार्वजनिक गरेको हो।
डीएचएस प्रमुख क्रिस्टी नोमले हालै भएका गोलीकाण्डमा संलग्न व्यक्ति डीभी कार्यक्रममार्फत अमेरिका प्रवेश गरेको तथ्य खुलेपछि राष्ट्रिय सुरक्षा चासोका कारण यस्तो कदम चालिएको बताइन्। उनका अनुसार सुरक्षा मूल्यांकन पूरा नहुँदासम्म डीभी कार्यक्रम स्थगित रहनेछ।
हालै अमेरिकाको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुई जनाको ज्यान गएको थियो भने नौ जना घाइते भएका थिए। उक्त घटनाका अभियुक्त सन् २०१७ मा डीभी कार्यक्रममार्फत अमेरिका प्रवेश गरेको जानकारी सार्वजनिक भएपछि कार्यक्रममाथि गम्भीर प्रश्न उठेको हो। डाइभर्सिटी भिजा कार्यक्रममार्फत अमेरिकाले हरेक वर्ष आप्रवासन दर कम भएका मुलुकका करिब ५० हजार नागरिकलाई अमेरिका प्रवेशको अवसर दिँदै आएको छ। यो कार्यक्रम विशेष गरी विकासोन्मुख मुलुकका नागरिकका लागि अमेरिकामा बसोबासको महत्वपूर्ण माध्यम मानिन्छ।
तर डीभी कार्यक्रम स्थगन गर्ने निर्णयविरुद्ध कानुनी चुनौती आउन सक्ने संकेत देखिएको छ। अमेरिकी सञ्चार माध्यमहरूका अनुसार उक्त निर्णयलाई लिएर अदालतमा रिट दायर हुन सक्ने सम्भावना रहेको छ।

