एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत बराबरको ७ करोड ९० लाख रुपैयाँ मूल्यका ७ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको ७९ हजार कित्ता शेयर बाँडफाँट गरिसकिएको कम्पनीले जनाएको छ ।
त्यस्तै, ३९ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि तथा १५ हजार ८०० कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ । अब दोस्रो चरणअन्तर्गत कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ५५ हजार ७०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो ।
लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा आवेदन दिने अन्तिम मिति जेठ २७ गते तोकिएको छ । सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार ५ गतेसम्म थप गरिने कम्पनीले जनाएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले ‘सी–आस्बा’ प्रणालीमार्फत स्वीकृत बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर प्रयोग गरी आवेदन दिन सक्नेछन् ।

