नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा शुक्रबार (माघ ९) पार्टी केन्द्रीय कार्यालय सानेपा जाने भएका छन् । विशेष महाधिवेशनबाट सभापति चुनिएपछि थापा पहिलोपटक पार्टी कार्यालयमा जान लागेका हुन् ।
काठमाडौं उपत्यकामा उपलब्ध नवनिर्वाचित केन्द्रीय समितिका सदस्यसहित शुक्रबार बैठक पनि बस्ने कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए । केन्द्रीय समिति बैठकबाट केही नयाँ घोषणा गरिन सक्ने उनले बताएका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनबाट गएको पुस ३० गते थापा सभापति बनेका हुन् । त्यसपछि बानेश्वरस्थित अर्पण बैंक्वेटमा नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बसेको थियो ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सभापति थापा सर्लाही क्षेत्र नम्बर–४ बाट उमेदवार बनेका छन् ।

