पाँचथरस्थित तल्लो हेवाखोला जलविद्युत् आयोजनाका लागि आवश्यक लगानी जुटेको छ। पाँच खपन जलविद्युत् प्रालिले निर्माण गर्न लागेको ६.८४ मेगावाट क्षमताको सो आयोजनामा दुई वाणिज्य बैंकले रु ९८ करोड १७ लाख बराबरको ऋण लगानी गर्ने भएका छन्।
आयोजनामा सिद्धार्थ बैंकले रु ५० करोड र राष्ट्रिय वाणिज्य बैंकले रु ४८ करोड १७ लाख बराबरको ऋण उपलब्ध गराउने सम्झौता भएको छ। आयोजनाको कूल लगानी संरचनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत प्रवर्द्धकको लगानी रहनेछ।
आयोजनाको कूल लागत रु १ अर्ब ४० करोड २५ लाख बराबर रहेको छ। कम्पनीका अध्यक्ष वसन्तकुमार तामाङका अनुसार आयोजनाबाट वार्षिक ४०.८२ गिगावाट–घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ।
उत्पादित बिजुली ३३ केभी क्षमताको ३.८ किलोमिटर लामो प्रसारण लाइनमार्फत केन्द्रीय प्रसारण प्रणालीमा जोडिनेछ। पाँचथर जिल्लामा निर्माणाधीन आयोजनाको काम सुरु भइसकेको र तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्य रहेको प्रवर्द्धक कम्पनीले जनाएको छ।

