नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशलाई कुनै योगदान नगरेकाहरू सोसल मिडियामा स्टन्ट गरेर राजनीति जित्ने प्रयासमा सक्रिय भइरहेको टिप्पणी गरेका छन्।
काठमाडौं क्षेत्र नम्बर ५ मा सोमबार बिहान आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै संयोजक प्रचण्डले विश्व साम्राज्यवादी शक्तिहरूले विभिन्न देशमा लोकतन्त्र र समाजवादविरुद्ध प्रहार गर्न पपुलिस्ट शक्तिहरूलाई प्रयोग र लगानी गर्ने गरेको आरोप लगाए।
उनले भने, “अहिले नेपालमा लोकप्रियतावाद हाबी हुन खोजेको छ। सोसल मिडियामा स्टन्ट गरेकै भरमा राजनीतिमा स्थापित हुन खोज्ने प्रवृत्ति देखिएको छ। विश्व साम्राज्यवादले विभिन्न देशमा पपुलिज्मलाई समाजवाद र लोकतन्त्रविरुद्ध प्रयोग गर्न लगानी गर्छ।”
नेपालमा पनि भूराजनीतिक चलखेलमार्फत हस्तक्षेप गर्ने प्रयास भइरहेको दाबी गर्दै उनले त्यसप्रति सचेत रहनुपर्ने बताए। प्रचण्डको भनाइलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति संकेतका रूपमा हेरिएको छ।
संयोजक प्रचण्डले पपुलिस्ट शक्तिहरू लोकतन्त्रविरुद्ध विदेशी शक्तिले प्रयोग गर्ने पात्र भएको आरोप लगाउँदै २६ वटा घटक मिलेर बनेको नेकपा अब देशकै सबैभन्दा ठूलो पार्टी बन्ने दाबीसमेत गरे।

