नेपाल आयल निगमले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। निगमले बुधबार साधारणसभासम्बन्धी सूचना जारी गर्दै आगामी साधारणसभाबाट पारित भएपछि लाभांश वितरण गर्ने जनाएको हो।
सञ्चालक समितिको निर्णयअनुसार निगमको साधारणसभा माघ २८ गते बुधबार बबरमहलस्थित निगमको सभा हलमा बस्नेछ। सो सभाले लाभांश प्रस्तावसहितका अन्य महत्वपूर्ण एजेन्डामाथि छलफल गरी निर्णय गर्नेछ।
निगमको चुक्ता पुँजी ११ अर्ब रुपैयाँ रहेको छ। यही पुँजीको आधारमा निगमले सेयरधनीहरूलाई १० प्रतिशत अर्थात् १ अर्ब १० करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्ने तयारी गरेको हो।
लाभांश वितरणको घोषणासँगै निगमको वित्तीय अवस्था सुधारोन्मुख रहेको संकेत देखिएको छ। इन्धन आपूर्ति व्यवस्थापन र वित्तीय अनुशासन कायम राख्दै आएको निगमले नाफाबाट सेयरधनीलाई प्रतिफल दिन लागेको हो। साधारणसभाबाट प्रस्ताव पारित भएपछि लाभांश वितरणको प्रक्रिया औपचारिक रूपमा अगाडि बढ्ने निगमले जनाएको छ।

