प्रतिनिधिसभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले विधेयक पारित गरेको हो।
विधेयक पारित हुनुअघि भएको छलफलमा प्रतिपक्षी दलका केही सांसदहरूले विधेयकलाई थप अध्ययन र विस्तृत छलफलका लागि संसदीय समितिमा पठाउनुपर्ने धारणा राखेका थिए। उनीहरूले विधेयकका केही व्यवस्थामाथि थप समीक्षा आवश्यक रहेको बताएका थिए।
तर प्रतिपक्षीको उक्त माग स्वीकार नगरी प्रतिनिधिसभाले बहुमतका आधारमा विधेयक पारित गरेको हो।

