निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने आम निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ।
मतदाता नामावली ऐन, २०७३ तथा अद्यावधिक कार्यविधि, २०८१ अनुसार २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पुरा हुने नागरिकहरूको विवरण अद्यावधिक गर्दै सूची प्रकाशित गरिएको आयोगले जनाएको छ।
शनिबार सार्वजनिक भएको अन्तिम नामावलीअनुसार कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाताले यस निर्वाचनमा मतदान गर्न पाउनेछन्। जसमध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र अन्य २०० मतदाता रहेका छन्।
आयोगले मतदाताले आफ्नो विवरण www.election.gov.np मा हेर्न सक्ने व्यवस्था गरिएको पनि बताएको छ।
२०७९ को तुलनामा ९ लाखभन्दा बढी मतदाता थप
विसं २०७९ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता थिए। यो वर्ष मतदाताको संख्या ९ लाख १५ हजार ११९ ले वृद्धि भएको छ।
बढेको विवरण यसप्रकार छ – पुरुष: ५ लाख २२ हजार ५५२, महिला: ३ लाख ९२ हजार ५५२ र अन्य: १५ जना ।
देशभर २३ हजार ११२ मतदान केन्द्र
आगामी निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थल र २३ हजार ११२ मतदान केन्द्र तोकिएको छ। गत निर्वाचनको तुलनामा मतदान स्थल ७५ ले वृद्धि भएको र मतदान केन्द्र ८८५ ले वृद्धि भएको आयोगले जनाएको छ।

