संयुक्त राष्ट्रसङ्घले मंगलबार सार्वजनिक गरेको ‘विश्व शहरीकरण प्रतिवेदन २०२५’ अनुसार विश्वको ८.२ अर्ब जनसङ्ख्यामध्ये करिब आधा मानिस अहिले शहरमा बसोबास गर्छन्। सात दशकयता विश्व लगातार शहरीकरण हुँदै गएको प्रतिवेदनले उल्लेख गरेको छ।
सन् १९५० मा विश्व जनसङ्ख्याको २० प्रतिशत मात्र शहरमा बस्ने गरेकोमा हालसम्म आइपुग्दा यो दर ४५ प्रतिशत पुगेको छ। शहरीकरणको तीव्र वृद्धि विशेषगरी विकासोन्मुख मुलुकहरूमा अधिक देखिएको प्रतिवेदनले बताउँछ।
ठूला शहरहरूको तीव्र वृद्धि
सन् १९७५ मा १० लाखभन्दा बढी जनसङ्ख्या भएका शहर विश्वमा ८ वटा मात्र थिए। तर सन् २०२५ सम्म ती संख्या ३३ पुगेको प्रतिवेदनले जनाएको छ, जसमा १९ वटा शहर एसियामा पर्दछन्। इन्डोनेसियाको जाकार्ता विश्वकै सबैभन्दा धेरै जनघनत्व भएको शहरका रूपमा पहिचान भएको छ, जहाँ ४२ लाखभन्दा बढी मानिस बसोबास गर्छन्। सन् २०५० सम्म यस्ता ठूलो आकारका शहरको संख्या ३७ पुग्ने अनुमान छ।
साना र मध्यम आकारका शहरको तीव्र विस्तार
प्रतिवेदनका अनुसार, विश्वका धेरै मानिसठूला शहरमा नभई साना र मध्यम आकारका शहरहरूमै बसोबास गर्छन्। अध्ययनमा समावेश १२ हजार शहरमध्ये – ९६% शहरमा १० लाखभन्दा कम जनसङ्ख्या, ८१% शहरमा २.५ लाखभन्दा कम जनसङ्ख्या रहेको छ।
सन् १९७५ देखि २०२५ सम्म विश्वभरका शहरहरूको संख्या दोब्बरभन्दा बढी बढेर सन् २०५० सम्म १५ हजारभन्दा धेरै पुग्ने प्रक्षेपण गरिएको छ।
ग्रामीण बस्ती घट्दै
साना बस्तीहरूमा बस्ने जनसङ्ख्या सन् १९५० को ४० प्रतिशत बाट घटेर सन् २०२५ मा ३६ प्रतिशत पुगेको छ। र ग्रामीण क्षेत्रमा बस्ने जनसङ्ख्या १९ प्रतिशत मात्र बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ।
सन् १९७५ मा ११६ देशमा प्रमुख रहेका ग्रामीण बस्तीहरू अहिले घटेर ६२ देशमा मात्र सीमित भएका छन्।
‘शहरीकरण यो युगको निर्णायक शक्ति’
संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारी ली जुनह्वाले शहरीकरणले जलवायु सुरक्षा, आर्थिक वृद्धि र सामाजिक समानताका लागि नयाँ अवसर खोल्ने बताउँदै भने “शहरीकरण यो युगको निर्णायक शक्ति हो। यसको समावेशी र योजनाबद्ध व्यवस्थापन अत्यावश्यक छ। प्रत्येक देशले आवास, भू–व्यवस्था, यातायात र सार्वजनिक सेवाहरूलाई शहर र गाउँ दुवै क्षेत्रमा सन्तुलनसहित अघि बढाउनुपर्छ।”

