अहिलेसम्म सञ्चालनमा रहेका जीवन तथा निर्जीवन बीमा कम्पनीहरूमध्ये ११ वटा कम्पनीले लाभांश घोषणा गरिसकेका छन्। तीमध्ये तीन कम्पनीले २० प्रतिशतभन्दा बढी लाभांश प्रस्ताव गरेका छन्।
उच्च लाभांश प्रस्ताव गर्ने कम्पनीमा सन नेपाल लाइफ इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्स रहेका छन्। सन नेपाल लाइफले ५ प्रतिशत बोनस सेयर र १५.२६ प्रतिशत नगद गरी कुल २०.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ भने नेपाल लाइफले ५ प्रतिशत बोनस सेयर र १६.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी अधिकांश कम्पनीले पूरा गरिसकेकाले यस वर्ष धेरै कम्पनीहरूले नगद लाभांशमा जोड दिएका छन्। यद्यपि, बजारमा नगद लाभांश राम्रो कि बोनस सेयर भन्ने बहस लामो समयदेखि चल्दै आएको छ।
कतिपय लगानीकर्ताले बोनस सेयरका कारण चुक्ता पुँजी बढ्दै गए पनि त्यसअनुसार आम्दानी बढ्न नसक्दा प्रतिफल घट्ने जोखिम औंल्याउने गरेका छन्। अर्कोतर्फ, बोनस सेयरले सेयर संख्या बढ्ने र मूल्य बढेमा नगद लाभांशभन्दा बढी फाइदा हुने तर्क गर्ने लगानीकर्ताहरू पनि छन्।
नेपाल लाइफ इन्स्योरेन्स
नेपाल लाइफले प्रस्ताव गरेको लाभांश पाउन आइतबारसम्म सेयर स्वामित्व कायम गर्नुपर्नेछ। कम्पनीले सोमबार बुक क्लोज गर्ने जनाएको छ। लघु बीमाबाहेक जीवन बीमा कम्पनीहरूमध्ये सेयर मूल्यका आधारमा नेपाल लाइफ दोस्रो स्थानमा छ। हाल कम्पनीको प्रतिकित्ता सेयर मूल्य ८२२ रुपैयाँ रहेको छ भने सबैभन्दा महँगो जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन (९१८ रुपैयाँ) रहेको छ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा नेपाल लाइफको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.९४ प्रतिशतले बढेर २१ करोड ५५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कम्पनीले २० करोड ५४ लाख रुपैयाँ नाफा कमाएको थियो।
नाफाका आधारमा कम्पनी तेस्रो स्थानमा छ। पहिलोमा रिलायबल नेपाल लाइफ (२५ करोड ८५ लाख) र दोस्रोमा सन नेपाल लाइफ (२३ करोड ९२ लाख) रहेका छन्। यद्यपि, आम्दानी वृद्धिदरको आधारमा केही स्थान तल भए पनि कुल आम्दानीका हिसाबले नेपाल लाइफ अग्रस्थानमा छ। पहिलो त्रैमासमा कम्पनीको कुल आम्दानी १८ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ५५ पैसा र प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ १४ पैसा रहेको छ।
बीमा व्यवसाय पनि विस्तार हुँदै गएको देखिन्छ। गत असोजको तुलनामा कम्पनीको बीमा शुल्क आर्जन २६।४२ प्रतिशतले बढेर १७ अर्ब रुपैयाँ पुगेको छ। रकमका आधारमा कम्पनी अग्रस्थानमा रहे पनि वृद्धिदरका हिसाबले नवौं स्थानमा छ।
सन नेपाल लाइफ इन्स्योरेन्स
उच्च लाभांश प्रस्ताव गरेको सन नेपाल लाइफको सेयर बजारमा हाल ५१५ रुपैयाँ आसपासमा कारोबार भइरहेको छ। चालु आवको पहिलो त्रैमासमा कम्पनीको नाफा ४४.०२ प्रतिशतले बढेर २३ करोड ९२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सो अवधिमा कम्पनीले १६ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो। नाफाका आधारमा कम्पनी दोस्रो स्थानमा छ।
तर कुल आम्दानीको वृद्धिदरका आधारमा कम्पनी १४ मध्ये अन्तिम स्थानमा रहेको छ। यस अवधिमा कम्पनीको कुल आम्दानी २१ प्रतिशतले घटेर १ अर्ब २ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ९५ पैसा र प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ८९ पैसा रहेको छ। बीमा शुल्क आर्जन भने तीव्र रूपमा बढेको छ। असोजको तुलनामा कम्पनीको बीमा शुल्क आर्जन ३५.८७ प्रतिशतले बढेर १ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। यद्यपि, कुल रकमका आधारमा कम्पनी १४ औं स्थानमा रहेको छ।
सिटिजन्स लाइफ इन्स्योरेन्स
सिटिजन्स लाइफ इन्स्योरेन्सले यस वर्ष बोनस सेयर नदिई २० प्रतिशत नगद लाभांश मात्र प्रस्ताव गरेको छ। कम्पनीले पुस ८ गते बुक क्लोज गर्ने जनाएको छ। चुक्ता पुँजी नियामक मापदण्डअनुसार पुगेकाले कम्पनी नगद लाभांशमा केन्द्रित भएको देखिन्छ। नगद लाभांश खोज्ने लगानीकर्ताका लागि सिटिजन्स लाइफ आकर्षक विकल्पका रूपमा देखिएको छ।
कति दिँदैछन् बीमा कम्पनीहरूले लाभांश दर, प्रतिशतमा
नेपाल लाइफ: बोनस ५ % नगद १६.०५%
नेशनल लाइफ: बोनस ४ % नगद ८.५% (बुक क्लोजस् पुस ७)
सिटिजन्स लाइफ: बोनस ० % नगद २०% (बुक क्लोजस् पुस ८)
सन नेपाल लाइफ: बोनस ५ % नगद १५.२६%
नेपाल इन्स्योरेन्स: बोनस ०% नगद ६.३१%
शिखर इन्स्योरेन्स: बोनस ६ % नगद ०.३१%
सगरमाथा लुम्बिनी: बोनस ० % नगद १५%
सानिमा रिलायन्स लाइफ: बोनस ० % नगद १०.१७%
आइएमई लाइफ: बोनस ० % नगद १०.५२%
सिद्धार्थ प्रिमियर: बोनस ०% नगद २५%
आइजिआई प्रुडेन्सियल: बोनस ० % नगद घोषणा नभएको

