पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका रूपमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ प्रणाली लागू गरिएको छ। अब सन्दर्भ मूल्य सूचीको साटो कारोबर मूल्यलाई नै आधार मानेर व्यापारिक वस्तुको यथार्थ भन्सार मूल्याङ्कन गरिने भएको छ।
मेची भन्सार कार्यालयका प्रमुख कर अधिकृत शिवलाल न्यौपानेका अनुसार यो प्रणालीले भन्सार प्रक्रियालाई थप पारदर्शी, छरितो र करदातामैत्री बनाउनेछ। उनले वैध व्यापारलाई प्रोत्साहन गरिने भएकाले यस प्रणालीबाट राजस्व चुहावटमा उल्लेख्य कमी आउने विश्वास व्यक्त गरे।
मेची भन्सारसहित देशका आठ वटा भन्सार कार्यालयमा परीक्षणका रूपमा यो प्रणाली लागू गरिएको हो। झापाका मेची र भद्रपुर भन्सार कार्यालयमा भने पुसको दोस्रो सातादेखि प्रणाली सञ्चालनमा आएको छ। विश्व व्यापार सङ्गठन (WTO) ले सदस्य मुलुकहरूलाई अनलाइन भ्यालुएसन प्रणाली लागू गर्न आग्रह गर्दै आएको सन्दर्भमा नेपालले समेत यसलाई कार्यान्वयनमा ल्याएको हो।
प्रणाली शुभारम्भ कार्यक्रममा सहभागी अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले अनलाइन भ्यालुएसन प्रणालीबाट भन्सारमा देखिँदै आएका अनियमितता र अनौपचारिक कारोबारमा कमी आउने बताए। उनले सरकारले भन्सारमा सुशासन र करदातामैत्री व्यवस्थालाई प्राथमिकता दिएको उल्लेख गर्दै निजी क्षेत्रले पनि यसको सफल कार्यान्वयनमा सहजीकरण गर्नुपर्नेमा जोड दिए।
मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ का लागि रु १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व सङ्कलनको वार्षिक लक्ष्य लिएको छ। चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्मको पाँच महिनामै कार्यालयले रु ६ अर्ब ८२ करोड २ लाख ७२ हजार राजस्व सङ्कलन गरिसकेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस