कामना सेवा विकास बैंकले ग्राहकलाई छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित ग्राहक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली ‘केएस मित्र’ सञ्चालनमा ल्याएको छ।
बैंकका अनुसार ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध ‘आस्क केएस मित्र’ आइकन,ksmitra@kamanasewabank.com इमेल तथा ९८५१३६०००५ नम्बरको ह्वाट्सएपमार्फत बैंकिङ सेवा, खाता सम्बन्धी जानकारी, विभिन्न अनुरोध तथा गुनासो राख्न सक्नेछन्।
‘केएस मित्र’ मार्फत ग्राहकले शाखामा उपस्थित नभई बैंकका सेवा तथा सुविधाबारे जानकारी लिन सक्नेछन्। यस प्रणालीबाट बैंकका शाखा तथा सम्पर्क नम्बर, ब्याजदर, सेवा शुल्क र अन्य सामान्य बैंकिङ जानकारी सहज रूपमा प्राप्त गर्न सकिनेछ।
ग्राहकको पहिचान तथा खाताको विवरण प्रमाणीकरण भएपछि खाताको मौज्दात, कारोबार विवरण, कर्जाको बाँकी रकम, सिआरएन, डिम्याट तथा केवाइसीसम्बन्धी जानकारीसमेत लिन सकिने बैंकले जनाएको छ।
त्यसैगरी, खाता ब्लक गर्ने, आम्दानीको स्रोत वा पेसा परिवर्तन गर्ने, मोबाइल बैंकिङको पासवर्ड वा पिन परिवर्तन गर्ने, मोबाइल बैंकिङ ब्लक गर्ने तथा त्यसको अवस्था बुझ्ने जस्ता सेवाहरू पनि यस प्रणालीमार्फत उपलब्ध हुनेछन्।
‘केएस मित्र’ मार्फत ग्राहकले खोजेको जानकारी तत्काल उपलब्ध हुन नसकेमा स्वचालित रूपमा टिकट जारी हुनेछ। यसले ग्राहकका जिज्ञासा, सेवा अनुरोध तथा गुनासोको अनुगमन, फलोअप र समाधान प्रक्रियालाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने बैंकको विश्वास छ।
बैंकले डिजिटल प्रविधिको प्रयोग विस्तार गर्दै ग्राहक सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले यो प्रणाली सञ्चालनमा ल्याएको जनाएको छ। यसले ग्राहकको समय बचत गर्नुका साथै डिजिटल माध्यमबाट बैंकिङ जानकारी तथा सेवा प्राप्त गर्न सहज बनाउने अपेक्षा गरिएको छ।
बैंकको ‘फ्युचर रेडी’ अवधारणाअनुरूप अघि बढाइएको यो पहलसँगै ग्राहकको आवश्यकता र सुविधालाई प्राथमिकता दिँदै विशिष्ट बचत खातामार्फत उपलब्ध ‘डोरस्टेप बैंकिङ’ सेवालाई समेत डिजिटल नवप्रवर्तनसँग जोड्ने अवधारणालाई बैंकले प्राथमिकता दिएको छ।
प्रतिक्रिया दिनुहोस