कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा तीव्र विस्तारसँगै बाइटडान्सका संस्थापक झाङ यिमिङ चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन्। हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले चीनमा एआई, अर्धचालक र रोबोटिक्स क्षेत्रमा लगानी तथा व्यवसाय विस्तार हुँदा प्रविधि उद्यमीको सम्पत्ति बढेको देखाएको छ।
हुरुनका अनुसार पाँच अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६ प्रतिशतले बढेर एक हजार ५२९ पुगेको छ। अमेरिकी डलरमा आधारित गणनाअनुसार अर्बपतिको सङ्ख्या पनि १५५ ले बढेर एक हजार १७६ पुगेको छ।
हुरुनका अध्यक्ष रुपर्ट हुगेवर्फका अनुसार सूचीमा रहेका १६० जना अर्थात् करिब १० प्रतिशतले एआई क्षेत्रबाट सम्पत्ति आर्जन गरेका छन्। बाइटडान्सको एआई सहायक ‘डुबाओ’ चीनमा सबैभन्दा बढी प्रयोग हुने एआई सहायक बनेको छ। बाइटडान्स लोकप्रिय छोटो भिडियो प्लेटफर्म डुइन र टिकटकको सञ्चालक कम्पनी पनि हो।
यसैबीच, बोतलको पानी व्यवसायी झोङ सानसानको सम्पत्ति २३ प्रतिशतले घटेर ६१ अर्ब अमेरिकी डलरमा सीमित भएको छ। उनी सूचीमा दोस्रो स्थानमा झरेका छन्। विद्युतीय सवारीसाधनका लागि ब्याट्री उत्पादन गर्ने विश्वकै ठूलो कम्पनीका प्रमुख रोबिन जेङ तेस्रो स्थानमा छन्।
एआई कम्पनी डीपसिकका संस्थापक लियाङ वेनफेङ सातौँ र एआई चिप निर्माता क्याम्ब्रिकनका अध्यक्ष चेन तियान्सी दसौँ स्थानमा रहेका छन्।
प्रविधि क्षेत्रमा सम्पत्ति बढिरहेका बेला उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा छन्। चिनियाँ विद्युतीय सामग्री निर्माता साओमीका अध्यक्ष लेइ जुनको सम्पत्ति आधा घटेर २५ अर्ब १० करोड अमेरिकी डलरमा झरेको छ। हुरुनका अनुसार पहिलोपटक चीनको मुख्यभूमिमा आधारित कुनै पनि घरजग्गा विकासकर्ता शीर्ष १०० धनीको सूचीमा परेका छैनन्।
सरकारी सहयोगका कारण एआई र विद्युतीय सवारीसाधन उद्योग विस्तार भइरहेका छन्। तर, उपभोक्ताले खर्च घटाउँदा साना व्यवसाय प्रभावित भएका छन्। घरजग्गा बजारको लामो मन्दीले पनि चीनको आन्तरिक माग कमजोर बनाएको छ।
चीनको अर्थतन्त्र जुलाईदेखि सेप्टेम्बरसम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.५ प्रतिशतले बढेको थियो। चीनले यस वर्ष ४.५ देखि ५ प्रतिशतसम्म आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ, जुन अघिल्लो वर्षको ५ प्रतिशत वृद्धिभन्दा केही कम हो।
प्रतिक्रिया दिनुहोस