२०८३, कार्तिक ११ गते

डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

मंगलवार , कार्तिक ११, २०८३

डेविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा विराटनगर किंग्ससामु १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १५७ रन बनाएको हो ।

चितवनका लागि ओपनर डेविड मलानले सर्वाधिक ७० रन बनाए । उनले ५० बलमा पाँच चौका र पाँच छक्का प्रहार गरे । मलानले अर्का ओपनर देव खनालसँग पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए । खनालले १२ रन बनाए ।

त्यस्तै, रवि बोपाराले अविजित ३२ रन बनाउँदा डान मुस्लेले २९ रनको योगदान दिए ।

विराटनगरका लागि एञ्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असलंकाले समान एक विकेट लिए ।

खेलका क्रममा विराटनगरका कप्तान सन्दीप लामिछानेले १७.३ ओभरमा डान मुस्लेविरुद्ध डीआरएसको अपिल गरेका थिए । मैदानका अम्पायरले नटआउट दिएपछि उनले अपिल गरेका थिए । तर, टिभी अम्पायरले पनि नटआउटको निर्णय कायम राखेपछि मुस्लेको विकेट जोगिएको थियो ।

दुवै टोली प्रतियोगिताको सुरुआत जितका साथ गर्ने लक्ष्यमा छन् । पहिलो सिजन लिग चरणबाटै बाहिरिएको विराटनगरले दोस्रो सिजनमा प्लेअफसम्मको यात्रा तय गरेको थियो । यता, पहिलो सिजन एलिमिनेटरसम्म पुगेको चितवन दोस्रो सिजनमा भने लिग चरणबाटै बाहिरिएको थियो ।

सोमबारदेखि सुरु भएको प्रतियोगितामा साविक विजेता लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गर्दै विजयी सुरुआत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images