समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सात समस्याग्रस्त सहकारीका १२२ जना बचतकर्ताको रकम फिर्ता गरेको छ।
समितिले सार्वजनिक गरेको विवरणअनुसार तीन सहकारीका २३ जना बचतकर्ताले पूर्ण बचत रकम फिर्ता पाएका छन् भने चार सहकारीका ९९ जना बचतकर्ताले आंशिक रकम प्राप्त गरेका छन्।
पूर्ण बचत फिर्ता पाउनेमा नेपाल सहकारी वित्तीय सहकारी, आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी र शिवशिखर सहकारीका बचतकर्ता रहेका छन्।
त्यस्तै, कान्तिपुर सहकारी, गौतमश्री बहुउद्देश्यीय सहकारी, कृषि विकास बहुउद्देश्यीय सहकारी र श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीका ९९ जना बचतकर्ताले आंशिक बचत रकम फिर्ता पाएका छन्।
सरकारका अनुसार समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त भएको रकम बचतकर्तालाई फिर्ता गरिएको हो। पहिलो चरणमा थोरै रकम बचत गरेका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिएको समितिले जनाएको छ।
समितिका अनुसार आगामी दिनमा पनि बचतकर्ताको बचत रकमका आधारमा वर्गीकरण गरी क्रमशः रकम फिर्ता गरिनेछ।
समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापन गरी प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई प्रचलित कानुनी व्यवस्थाअनुसार निरन्तर फिर्ता गर्ने प्रक्रिया अघि बढिरहेको समितिले स्पष्ट पारेको छ।
प्रतिक्रिया दिनुहोस