२०८३, कार्तिक १८ गते

बेलायतको दास व्यापारको इतिहास सम्झिँदै राजा चार्ल्सले व्यक्त गरे दुःख

बुधवार , कार्तिक १८, २०८३

बेलायतका राजा चार्ल्स तृतीयले आफ्नो देशको दास व्यापारको इतिहासप्रति दुःख व्यक्त गरेका छन्। दास व्यापारमा बेलायतको भूमिका इतिहासको लज्जास्पद पक्ष भएको उल्लेख गर्दै उनले त्यसलाई सम्झँदा आफूलाई गहिरो पीडा हुने बताएका छन्।

एन्टिगुवा र बारबुडामा राष्ट्रमण्डल सदस्य राष्ट्रका नेताहरूको बैठक उद्घाटन गर्दै राजा चार्ल्सले दास प्रथाको इतिहासले अहिले पनि क्यारिबियन क्षेत्रका देश तथा राष्ट्रमण्डलका अन्य सदस्य राष्ट्रलाई प्रभावित पारिरहेको बताए।

इतिहासलाई बदल्न नसकिने भए पनि त्यसबाट पाठ सिक्न सकिने उनको भनाइ थियो। विगतका गल्ती स्वीकार गर्दै अन्यायविरुद्ध दृढताका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिए।राजा चार्ल्सको यस्तो अभिव्यक्ति बेलायतसँग दास प्रथाका लागि औपचारिक माफी माग्न र क्षतिपूर्ति दिनुपर्ने माग उठिरहेका बेला आएको हो।

ऐतिहासिक तथ्यांकअनुसार सन् १५०० देखि १८०० को अवधिमा बेलायतले अफ्रिकाका करिब ३२ लाख मानिसलाई अटलान्टिक महासागर पार गराएर आफ्ना उपनिवेशमा दासका रूपमा पुर्‍याएको थियो। बेलायतले सन् १८०७ मा दास व्यापारमा प्रतिबन्ध लगाएको थियो भने सन् १८३३ मा दास प्रथा अन्त्य गर्ने कानुन पारित गरेको थियो।

तर, दास प्रथा अन्त्य गर्ने क्रममा बेलायतले पीडितलाई नभई दासका मालिकलाई दुई करोड पाउन्ड क्षतिपूर्ति दिएको थियो। यही ऐतिहासिक अन्यायलाई आधार बनाउँदै अहिले क्यारिबियन देशहरूले बेलायतसँग औपचारिक माफी र क्षतिपूर्तिको माग गरिरहेका छन्।यता, बेलायती सरकारले क्षतिपूर्तिको सट्टा राष्ट्रमण्डलका सदस्य राष्ट्रलाई ऋणको ब्याजभारबाट राहत दिने योजना अघि सार्ने तयारी गरेको छ।

राजा चार्ल्सको दरबारले भने दास प्रथाका लागि क्षतिपूर्ति दिने वा नदिने भन्ने निर्णय राजाको नभई बेलायती सरकारको जिम्मेवारी भएको स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images