हिम पर्वत हाइड्रोपावर लिमिटेडले मंसिर १८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले दोस्रो चरणमा ३४ करोड ६४ लाख ५० हजार रुपैयाँ बराबरको ३४ लाख ६४ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।
कम्पनीले जारी पुँजी एक अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको थियो । त्यसमध्ये १६ लाख ९० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र चार लाख २२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
त्यस्तै, दुई लाख ११ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि निष्कासन गरिसकेको कम्पनीले एक लाख २६ हजार ७५० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित राखेको छ ।
बाँकी रहेको ३४ लाख ६४ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको यस आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
यस आइपिओमा मंसिर २३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिसम्म मागअनुसार आवेदन नपरेमा निष्कासन अवधि पुस ३ गतेसम्म थपिने कम्पनीले जनाएको छ । कम्पनीलाई इक्रा नेपालले 'इक्रा एनपी इस्युअर रेटिङ डबल बी प्लस' प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखामार्फत सी–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस