ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले फोहोर व्यवस्थापन राजनीतिक मुद्दाभन्दा पनि ठूलो र सबैको साझा विषय भएको बताएका छन्। उनले फोहोरको समयमै व्यवस्थापन गरी नेपाललाई स्वच्छ बनाउने अभियानमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन्।
बिहीबार टेकुस्थित बायो–मिथेनेसन प्लान्टको परीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले फोहोर व्यवस्थापनलाई अन्तरपुस्ता न्याय र देशको भविष्यसँग जोडिएको विषयका रूपमा व्याख्या गरे। उनले भने, ‘फोहोरको मुद्दा अन्तरपुस्तालाई, काठमाडौँलाई, नेपाललाई एउटा जस्टिस गर्ने मुद्दा हो। यो सबैको साझा मुद्दा हो र राजनीतिकभन्दा पनि ठूलो मुद्दा हो।’
मन्त्री श्रेष्ठका अनुसार काठमाडौँ महानगरपालिकाले अघि सारेका तीन कार्यक्रममध्ये काठमाडौँलाई रिचार्ज गर्ने र फोहोरबाट बायोग्यास उत्पादन गर्ने काम अघि बढिसकेको छ।
काठमाडौँको फोहोरबाट १४ किलोवाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिए पनि बाढीका कारण उपकरण बिग्रिएकाले तत्काल विद्युत् उत्पादन गर्न नसकिएको उनले बताए। उपकरण मर्मत गरी विद्युत् उत्पादन प्रक्रिया अघि बढाउन वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई निर्देशन दिइसकेको पनि उनले जानकारी दिए।
फोहोरबाट विद्युत् उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण काठमाडौँ महानगरपालिकाले प्रस्तुत गर्न सके अन्य स्थानीय तहलाई पनि यस्ता कार्यक्रम सञ्चालन गर्न सहज हुने उनको विश्वास छ। १४ किलोवाट विद्युत् उत्पादन गर्न सके काठमाडौँ महानगरपालिकाको वडा नम्बर १२ का लागि आयस्रोतसमेत सिर्जना हुने उनले बताए।
त्यस्तै, मन्त्री श्रेष्ठले सिसडोल र बञ्चरेडाँडामा रहेको फोहोर व्यवस्थापनका लागि दैनिक तीन हजार किलो फोहोर हटाउने योजना अघि बढाइएको जानकारी दिए। यसलाई क्रमशः विस्तार गर्दै काठमाडौँ महानगरपालिकाले आफ्नो फोहोर ल्यान्डफिल साइटमा लैजानै नपर्ने अवस्था सिर्जना गर्नुपर्ने उनको भनाइ छ।
उनले भने, ‘काठमाडौँ महानगरले आफ्नो एक किलो फोहोर पनि कतै ल्यान्डफिल्ड साइटमा लगेर प्रदूषित गर्दैन भन्ने एउटा सपना हामी पनि देख्न सक्छौँ।’
मन्त्री श्रेष्ठले फोहोरबाट उत्पादन हुने ग्यासलाई प्रयोगमा ल्याएर एलपीजी ग्यासमुक्त स्थानीय सरकार बनाउने अभियानलाई समेत सहयोग पुग्ने बताए। यसका लागि नीतिगत स्पष्टता, आवश्यक पूर्वाधार र ग्यास वितरण प्रणालीबारे छलफल गर्नुपर्ने उनको भनाइ छ। नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक संसद्मा दर्ता भइसकेको उल्लेख गर्दै उनले त्यसमा आवश्यक व्यवस्था मिलाएर पाइपलाइन र ग्यास वितरणसम्बन्धी विषयलाई अघि बढाउनुपर्ने बताए।
उनले घरबाटै फोहोर वर्गीकरण गर्ने बानी विकास गर्न नागरिकमा जनचेतना र सक्रियता आवश्यक रहेको भन्दै काठमाडौँ महानगरपालिकालाई त्यससम्बन्धी कार्यक्रम ल्याउन आग्रह गरे। मन्त्री श्रेष्ठले फोहोर व्यवस्थापनका लागि अन्य स्थानीय सरकारसँग पनि समन्वय गरेर अघि बढ्न महानगरपालिकालाई सुझाव दिए। यस अभियानमा संघीय सरकार महानगरपालिकालाई सहयोग गर्न सधैँ तयार रहेको उनले स्पष्ट पारे।
प्रतिक्रिया दिनुहोस