निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिका रूपमा मान्यता दिएको छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ बमोजिम पार्टीको विवरण अद्यावधिक गर्दै आयोगले थापा नेतृत्वको पक्षलाई औपचारिक मान्यता दिने निर्णय गरेको हो ।
आयोगको यो निर्णयसँगै नेपाली कांग्रेसभित्र केही समयदेखि देखिएको नेतृत्वसम्बन्धी अन्योल औपचारिक रूपमा टुंगिएको छ । विशेष महाधिवेशनमार्फत चयन भएका थापालाई कानुनी मान्यता दिँदै आयोगले पार्टीको आधिकारिक अभिलेखमा सभापतिको रूपमा उनको नाम समावेश गरेको जनाएको छ ।
यससँगै अब नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा गगन थापा नेतृत्वको कांग्रेसको पक्षमा आएको छ । पुस २७ गतेदेखि बिहीबार बिहानसम्म चलेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनको पक्षमा कांग्रेसको लिगेसी औपचारिक रुपमा गएको हो ।
निर्वाचन आयोगका अनुसार राजनीतिक दलसम्बन्धी ऐनअनुसार केन्द्रीय पदाधिकारी, विधान, केन्द्रीय कार्यालय र आधिकारिक हस्ताक्षरकर्तासम्बन्धी विवरण अद्यावधिक गर्ने प्रक्रिया पूरा गर्दै थापा पक्षको विवरण स्वीकृत गरिएको हो । यस निर्णयपछि कांग्रेसको संगठनात्मक संरचना, संसदीय दल तथा निर्वाचनसम्बन्धी गतिविधि सञ्चालनमा स्पष्टता आएको आयोगको बुझाइ छ ।
आयोगले थापा नेतृत्वलाई मान्यता दिनुका तीन प्रमुख आधार सार्वजनिक गरेको छ । आयोगका अनुसार पार्टी विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न पाउने व्यवस्था रहेको, महाधिवेशन प्रतिनिधि नै पार्टीको सर्वोच्च प्रतिनिधि हुने संवैधानिक मान्यता रहेको तथा विशेष महाधिवेशन मागको विषयमा कुनै औपचारिक विमति नआएको आधारमा निर्णय गरिएको हो ।
यस निर्णयसँगै आगामी निर्वाचन तथा पार्टीका औपचारिक निर्णय प्रक्रियामा गगन थापाको नेतृत्व वैधानिक रूपमा प्रभावकारी हुने भएको छ ।
तर, निर्वाचन आयोगको निर्णयप्रति नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले कडा आपत्ति जनाएको छ । देउवा समूहका नेता तथा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगको निर्णय विधानविपरीत र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन् । शुक्रबार आयोग परिसरबाहिर पत्रकारहरूसँग कुरा गर्दै खड्काले आयोगको निर्णय आफूहरूलाई मान्य नहुने स्पष्ट पारे ।
“हामीले आशंका गरेकै निर्णय आयो । स्थापित नजिरको विरुद्धमा आयोगको निर्णय आएको छ,” खड्काले भने, “हामी वैधानिक, राजनीतिक र कानुनी सबै लडाइँ लड्छौँ ।” उनले निर्णय एकपक्षीय र ‘सेटिङ’मा भएको दाबी गर्दै मूल सभापति शेरबहादुर देउवालाई नसोधी निर्णय गरिएको आरोप लगाए ।
यता, कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आयोगको निर्णयपछि सबै आवेग त्यागेर एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखेका छन् । उनले यसलाई ‘नवीन नेपालका लागि नवीन कांग्रेसको सुरुआत’को संज्ञा दिँदै विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने र नगर्नेबीच अब विभाजन नराख्न आग्रह गरे ।
“अब पुराना आवेगका कुरा बिर्सनुपर्छ । बदलिनेहरूले नै देश र पार्टी बदल्न सक्छन्,” शर्माले भने ।
निर्वाचन आयोगको निर्णयपछि शुक्रबार आयोग परिसरमा गगन थापा पक्षले खुसीयाली मनाउँदा देउवा पक्ष भने विरोधमा उत्रिएको देखिएको छ । कांग्रेसभित्रको यो घटनाक्रमले आगामी दिनमा पार्टीभित्रको राजनीतिक दिशा र एकताको चुनौतीलाई थप गहिरो बनाएको विश्लेषण भइरहेको छ ।

