नेपाली बजारमा पछिल्लो एक सातादेखि एलपी ग्यासको अभाव देखिएको छ। उपभोक्ताले मागअनुसार ग्यास नपाइरहेको गुनासो गर्न थालेका छन् भने विभिन्न कम्पनीका बिक्रेता तथा डिलरहरूले सहज रूपमा ग्यास उपलब्ध गराउन नसकेको बताएका छन्।
जनवरी महिनाको पहिलो सातादेखि नै भारतबाट ग्यासको आयात कम हुन थालेको नेपाल आयल निगमले जनाएको छ। मागअनुसार एलपी ग्यास आयात हुन नसक्दा त्यसको प्रत्यक्ष असरस्वरूप नेपाली बजारमा आपूर्ति असहज भएको निगमको भनाइ छ।
निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी) अन्तर्गतको बरौनी रिफाइनरी केन्द्रमा मर्मत कार्य भइरहेकाले त्यहाँबाट कोटा अनुसार ग्यास लोड हुन नसकेको हो। बरौनी रिफाइनरीको पुरानो प्लान्ट मर्मत भइरहेकाले हाल उक्त केन्द्रबाट नेपालका लागि ग्यास लोड नै हुन सकेको छैन।
नेपालमा मुख्यतया बरौनी, मथुरा, पारादीप र दुर्गापुर रिफाइनरीबाट एलपी ग्यास आयात हुँदै आएको छ। तीमध्ये मथुरा रिफाइनरीबाट मात्रै नियमित रूपमा ग्यास आइरहेको छ भने अन्य रिफाइनरीबाट आपूर्ति प्रभावित भएको छ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार बरौनी रिफाइनरीबाट ग्यास लोड हुन नसक्दा भारतीय बजारमै ग्यासको खपत बढेको छ। मुख्य रिफाइनरीबाट नै कम मात्रामा ग्यास उत्पादन हुँदा अन्य रिफाइनरीको ग्याससमेत भारतीय आन्तरिक बजारमै खपत भइरहेको र त्यसको असर नेपालमा परेको उनले बताए। त्यसका कारण पारादीप र दुर्गापुर रिफाइनरीबाट पनि नेपालमा ग्यास आपूर्ति कम भएको उनको भनाइ छ।
यसैबीच जाडोयामका कारण भारतमै ग्यासको माग बढ्ने भएकाले आईओसीले आन्तरिक मागलाई प्राथमिकता दिएको नेपाल आयल निगमले जनाएको छ। आन्तरिक माग पूरा भएपछि मात्रै नेपालतर्फ ग्यास निर्यात गरिने निगमको भनाइ छ।
निगमका अनुसार नेपालमा प्रतिमहिना करिब ४८ हजार मेट्रिक टन ग्यास आवश्यक पर्छ। तर, जनवरी महिनामा करिब ४३ हजार मेट्रिक टन ग्यास मात्रै आयात भएको छ। करिब ५ हजार मेट्रिक टन ग्यास कम आयात हुँदा बजारमा अभाव देखिएको हो।
यस्तै, पारादीप रिफाइनरी नेपालका लागि टाढा पर्ने भएकाले त्यहाँबाट ग्यास ल्याउन सवारी साधनको समेत अभाव रहेको व्यवसायीहरूले बताएका छन्। तर, अबको करिब एक साताभित्र समस्या समाधान भई आपूर्ति सहज हुने उनीहरूको विश्वास छ।

