राहदानी विभागले डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गर्दै नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत सेवा सञ्चालनमा ल्याएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको विभागले जारी गरेको सूचनाअनुसार आजबाट नयाँ प्रणाली कार्यान्वयनमा आएको हो ।
विभागका अनुसार करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको छ । विभागले यति ठूलो सूचना प्रविधि प्रणाली कार्यान्वयनपछि सुरुवाती चरणमा केही प्राविधिक चुनौती, प्रणालीमा सुस्तता तथा राहदानी वितरणमा सामान्य ढिलाइ देखिन सक्ने जनाएको छ ।
यस्ता समस्या समाधानका लागि विभागका प्राविधिक टोली, कर्मचारी तथा प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञहरू चौबीसै घण्टा प्रणालीको अनुगमन, परीक्षण र सुधारमा खटिएको विभागको भनाइ छ । विभागले प्रारम्भिक चरणमा अत्यावश्यक परेका सेवाग्राहीले मात्र राहदानीका लागि आवेदन दिन आग्रह गरेको छ ।
यसबाट नयाँ प्रणालीलाई थप स्थिर र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास विभागले व्यक्त गरेको छ । त्यस्तै, राहदानी सेवासम्बन्धी सूचना तथा समाचार विभाग वा परराष्ट्र मन्त्रालयका आधिकारिक माध्यमबाट प्रकाशित जानकारीलाई मात्र आधार बनाउन पनि विभागले अनुरोध गरेको छ ।

