राष्ट्रपति रामचन्द्र पौडेल आज (आइतबार) जापानको औपचारिक भ्रमणमा प्रस्थान गर्ने भएका छन्। नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार राष्ट्रपति पौडेल आज राति ११ः३० बजे नेपाल एयरलाइन्सको उडान नम्बर ४३३ मार्फत जापान प्रस्थान गर्नेछन्। भ्रमण सम्पन्न गरी राष्ट्रपति माघ २१ गते अपराह्न ४ः३० बजे स्वदेश फर्कने कार्यक्रम छ।
भ्रमणका क्रममा राष्ट्रपति पौडेलले माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा जापान सरकारद्वारा आयोजना हुने विशेष स्वागत समारोहमा सहभागिता जनाउने छन्। माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट हुने कार्यक्रम तय भएको छ। सोही दिन जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएसँग पनि राष्ट्रपति पौडेलको भेटवार्ता हुने तालिका रहेको छ।
यस्तै, जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गर्नेछन्। भ्रमण अवधिमा जापानी व्यावसायिक समुदायसँगको बैठकमा सहभागिता जनाउनुका साथै जापानस्थित नेपाली राजदूतावासले आयोजना गर्ने सम्मान तथा स्वागत समारोहमा पनि राष्ट्रपति सहभागी हुने मन्त्रालयले जनाएको छ।
राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी श्रीमती सबिता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू भ्रमणमा सहभागी हुनेछन्।
ऐतिहासिक नेपाल–जापान सम्बन्ध
नेपाल–जापान सम्बन्धको सुरुआत अठारौँ शताब्दीको अन्त्यतिर भएको मानिन्छ। सन् १८९९ मा जापानी बौद्ध भिक्षु रेभ एकाई कावागुची तिब्बतको बाटो हुँदै नेपाल आएका थिए, जसले जापानमा नेपालको परिचय गराउन महत्वपूर्ण भूमिका खेलेका इतिहासकारहरू बताउँछन्।
औपचारिक रूपमा सन् १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि द्विपक्षीय सम्बन्ध मित्रता, सद्भाव र सहयोगमा आधारित रहँदै आएको छ। नेपालले सन् १९६५ मा टोकियोमा र जापानले सन् १९६७ मा काठमाडौंमा दूतावास स्थापना गरेका थिए। जापानको ओसाकामा नेपालको मानार्थ वाणिज्य दूतावाससमेत सञ्चालनमा छ।
उच्चस्तरीय भ्रमण र सहकार्य
नेपाल र जापानबीच उच्चस्तरीय भ्रमण आदानप्रदानले सम्बन्धलाई थप सुदृढ बनाउँदै आएको छ। पछिल्ला वर्षहरूमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीस्तरीय भ्रमणहरू नियमित रूपमा हुँदै आएका छन्।
विकास सहयोगमा जापानको योगदान
जापानले सन् १९५४ देखि नेपालको सामाजिक–आर्थिक विकासमा महत्वपूर्ण योगदान दिँदै आएको छ। मानव संसाधन विकास, स्वास्थ्य, कृषि, पूर्वाधार, वातावरण संरक्षण र संस्कृति जस्ता क्षेत्रमा जापानको सहयोग उल्लेखनीय रहेको छ।
सिन्धुली सडक, कुलेखानी (१ र २), कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना, उदयपुर सिमेन्ट उद्योग, मेलम्ची खानेपानी परियोजनालगायत ठूला परियोजनाहरू जापानी सहयोगका प्रमुख उदाहरण हुन्। हाल नागढुङ्गा सुरुङ मार्ग, खानेपानी आपूर्ति सुधार र चौबाटो सुधार परियोजना सहुलियतपूर्ण ऋण योजनाअन्तर्गत सञ्चालनमा छन्।
७०औँ वार्षिकोत्सवको अवसरमा हुन लागेको राष्ट्रपति पौडेलको यो भ्रमणले नेपाल–जापानबीचको ऐतिहासिक मित्रतालाई थप मजबुत बनाउने र द्विपक्षीय सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।

