जापानको अर्थतन्त्र जुलाई–सेप्टेम्बर अवधिमा ठूलो दबाबमा परेर संकुचित भएको सरकारी तथ्याङ्कले सोमबार सार्वजनिक गरेको छ। अमेरिकाले लगाइरहेको कडा सुल्कका कारण जापानी निर्यात तीव्र रूपमा घटेपछि अर्थतन्त्रले वार्षिकिकृत दरमा १.८% र त्रैमासिक आधारमा ०.४% को गिरावट भोगेको हो। यो छ त्रैमासिकपछि आएको पहिलो संकुचन हो।
अर्थशास्त्रीहरूले बजारले अपेक्षा गरेको ०.६% को तुलनामा गिरावट कम देखिए पनि समग्र परिणाम चिन्ताजनक रहेको बताएका छन्। वार्षिकिकृत हिसाबले सेप्टेम्बरसम्मका तीन महिनामा निर्यात ४.५% ले घटेको छ, जबकि त्रैमासिक आधारमा निर्यात १.२% ले घट्यो। अमेरिकी सुल्क लागू हुनुअघि धेरै कम्पनीहरूले निर्यात तीव्र रूपमा बढाएका थिए, जसले अघिल्लो तथ्याङ्क केही फुलिएको अवस्था पैदा गरेको विश्लेषकहरूको बुझाइ छ। आयात भने ०.१% ले घटेको, र निजी उपभोग ०.१% ले मात्र बढेको क्याबिनेट अफिसले जनाएको छ।
जापानको निर्यात-आश्रित अर्थतन्त्र-विशेषगरी टोयोटाजस्ता ठूला अटोमोबाइल निर्माता कम्पनीहरूले नेतृत्व गरेको- हाल अमेरिकाली सुल्कबाट विशेष रूपमा प्रभावित भएको छ। अमेरिकाले अहिले करिब सबै जापानी सामानमा १५% सुल्क लगाइरहेको छ, जुन यसअघि २५% थियो।
निर्यातमा ठूलो गिरावट, तर दीर्घकालीन मन्दीको संकेत नभएको दाबी
अर्को तथ्याङ्कले देखाएअनुसार, सेप्टेम्बरसम्मका तीन महिनामा जापानको अर्थतन्त्र करिब २% ले संकुचित भएको छ। गाडी निर्माता कम्पनीहरूको निर्यात विशेषगरी निकै घटेको देखिन्छ। यद्यपि अर्थशास्त्रीहरूका अनुसार यो गिरावट स्थायी नभएर अस्थायी धक्का मात्र हुनसक्छ।
मेइजी यसुदा रिसर्च इन्स्टिच्युटका अर्थशास्त्री काजुताका माएदाले भने, “संकुचन मुख्यतः एकपटक हुने कारकहरू-जस्तै नियामक परिवर्तनले असर पारेको आवास लगानीका कारण हो। निर्यातले पनि सुल्कको दबाबमा प्रतिक्रिया दियो। तर दीर्घकालीन प्रवृत्ति हेर्दा अर्थतन्त्र क्रमिक रूपमा उकासिने संकेत देखिन्छ।”
ब्याजदरमा जापान बैंकको निर्णय प्रभावित हुने?
अर्थशास्त्रीहरूको धारणा अनुसार, यो त्रैमासिकको GDP–तथ्याङ्कले जापान बैंक (BOJ) को आगामी ब्याजदर निर्णयमा धेरै ठूलो असर नपर्ने देखिन्छ। तर प्रधानमन्त्री सानाए ताकाइचीका नजिकका आर्थिक सल्लाहकारले भने यसलाई गम्भीर रूपमा लिनुपर्ने टिप्पणी गरेका छन्।
क्रेडिट एग्रीकोलका प्रमुख जापान अर्थशास्त्री ताकुजी आइडाले भने, “अहिलेको संकुचनलाई हेर्दा डिसेम्बरमा जापान बैंकले ब्याजदर बढाउने निर्णय गर्नु गलत हुनेछ।” ताकाइचीको आर्थिक रणनीति बनाउने उच्चस्तरीय प्यानलका सदस्य समेत रहेका आइडाले यस्तो कदम अहिलेको आर्थिक अवस्थासँग मेल नखाने दाबी गरेका छन्।
राजनीतिक अनिश्चितता बीच नयाँ नेतृत्व
जापान हालै राजनीतिक परिवर्तनको अवधिबाट गुज्रिएको थियो। सानाए ताकाइची अक्टोबरमा प्रधानमन्त्री बनेपछि राजनीतिक अनिश्चितता केही हदसम्म हटेको विश्लेषण गरिन्छ।

