होटेल फरेस्ट इन् लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज माघ ८ गते अन्तिम दिन रहेको छ।
कम्पनीले माघ ४ गतेदेखि पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ४ लाख कित्ता शेयर निष्काशन गरेको हो। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था रहेको छ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँड सम्पन्न भएपछि कम्पनीले आम सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने तयारी गरेको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई पौष २० गते आईपीओ निष्काशनको अनुमति दिएको थियो। कम्पनीले कुल ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता शेयर निष्काशन गर्ने योजना बनाएको छ।
होटेल फरेस्ट इन् लिमिटेडले काठमाडौँको बुढानिलकण्ठ क्षेत्रमा ५ तारे ‘होलिडे इन रिसोर्ट’ सञ्चालन गर्दै आएको छ। कम्पनीकी अध्यक्ष विनिता थापा हुन्। उनी नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री दिपक खड्काकी श्रीमती हुन्। कम्पनीमा उनको ३२ प्रतिशत स्वामित्व रहेको छ। कम्पनीका अन्य सञ्चालकहरूमा रिंकु निरौला, चन्द्र सिंह साउद, अमर थापा र प्रल्हादराज कुँवर रहेका छन्।

