नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीमा अघि सार्दै चुनावी अभियानमा जाने तयारी गरेको छ । शुक्रबार (माघ )बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट सभापति थापालाई प्रधानमन्त्रीमा अघि सारेर जाने तयारी रहेको नेताहरूले बताएका छन् । “केन्द्रीय समिति बैठक माघ ९ गते बस्दै छ । हामी एजेन्डा तयारीकै चरणमा छौँ । बैठकको एजेन्डामध्येको एक सभापतिलाई प्रधानमन्त्री घोषणा गरेर चुनावमा जाने पनि हो,’’ उपसभापति पुष्पा भुसालले बताएका छन् ।
कांग्रेसले औपचारिक निर्णय गर्न बाँकी रहे पनि थापा उमेदवार बनेको निर्वाचन क्षेत्र सर्लाही–४ मा ‘अब की बार गगन सरकार’ भन्ने ब्यानरसहित प्रचारप्रसार थालिएको छ । प्रतिद्वन्द्वी दलहरू नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रधानमन्त्रीको उमेदवार तोकेरै चुनावमा होमिएका छन् । एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई नै भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ । रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई भावी प्रधानमन्त्रीमा अघि सार्दै प्रचार गरिरहेको छ ।
आमनिर्वाचनअघि सभापति थापालाई प्रधानमन्त्रीको उमेदवार घोषणा गरिए कांग्रेसको इतिहासमा यस्तो निर्णय दोस्रोपटक हुनेछ । २०५६ सालमा कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै कांग्रेस चुनावमा उत्रिएका थिए । २०५५ मा कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला एमालेसँगको सहकार्यमा प्रधानमन्त्री बनेका थिए । उक्त सरकारले २०५६ जेठमा चुनाव गर्ने घोषणा गरेको थियो ।
२०४६ सालमा प्रजातन्त्र पुनर्बहालीपछि २०४८ मा भएको चुनावमा कांग्रेसले बहुमत प्राप्त गरेका थिए । २०५१ को मध्यावधि निर्वाचनमा कांग्रेस दोस्रोमा खुम्चिएको थियो । २०५१ मा सभापति कोइराला नै भट्टराईलाई हराउन सक्रिय भएको भन्दै दुई नेताबीच तिक्ततापूर्ण सम्बन्ध थियो । तिक्ततापूर्ण सम्बन्धको असर २०५६ को चुनावमा पर्ने त्रास नेताहरूमा देखिन्थ्यो ।
“त्यति बेला दुई नेताबीच निकै तिक्तापूर्ण सम्बन्ध थियो । यसको असर चुनावमा पर्ने हो कि भन्ने त्रास पनि उत्तिकै थियो । पछि गिरिजाबाबुले नै भट्टराईलाई प्रधानमन्त्रीको उमेदवार प्रस्ताव गर्नुभयो,’’ तत्कालीन परिस्थिति स्मरण गर्दै नेता अर्जुननरसिंह केसीले बताएका छन्।
भट्टराईलाई प्रधानमन्त्री घोषणा गरेर जाँदा २०५६ मा कांग्रेसले स्पस्ट बहुमत प्राप्त गरेको थियो । २०५ सदस्यीय तत्कालीन प्रतिनिधिसभामा कांग्रेस १११ स्थानमा विजयी भएको थियो । घोषणाअनुरूप नै भट्टराई प्रधानमन्त्री बनेका थिए ।

