कोशी प्रदेश सरकारले निजी र सार्वजनिक क्षेत्रको साझेदारीमा खोटाङमा जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्न लागेको छ। स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षका लागि रु तीन करोड विनियोजन गरेको छ।
प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईका अनुसार, यो केन्द्र कोशी प्रदेशकै एकमात्र जडीबुटी उत्पादन र प्रशोधन केन्द्र हुनेछ। केन्द्रले अव्यवस्थित सङ्कलन र निर्यातलाई व्यवस्थित गर्दै स्थानीयस्तरमै मूल्य निर्धारण गर्नेछ।
केन्द्र सञ्चालनमा आएपछि स्थानीय युवाका लागि रोजगारी सिर्जना, जडीबुटी खेतीप्रति आकर्षण र ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न अपेक्षा गरिएको छ। योजना अनुसार गुणस्तर परीक्षण, प्रशोधन, प्याकेजिङ र बजार व्यवस्थापन जिल्लामै गरिनेछ।
खोटाङका किसानहरूले अहिलेसम्म चिराइतो, पाखनभेद, तेजपात, टिमुर, तुलसी, लोठसल्ला, लेमनग्रास र मजिटोलगायत जडीबुटी व्यवसायिक खेती गर्दै आएका छन्। सडक सञ्जाल विस्तार भएपछि जिल्लामा उत्पादित जडीबुटी निर्यात हुन थालेको र व्यवसायिक खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ।

