काठमाडौं, कार्तिक २५ । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छपाइका लागि चीनको चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनसँग सम्झौता गरेको छ।
केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार सम्झौता २०७२ कार्तिक २५ गते (११ नोभेम्बर २०२५) मा सम्पन्न भएको हो। सम्झौताअनुसार सो कम्पनीले नयाँ नोटको डिजाइन, छपाइ र आपूर्तिको सम्पूर्ण जिम्मेवारी लिनेछ।
राष्ट्र बैंकका अनुसार नोट छपाइ तथा आपूर्तिका लागि उक्त कम्पनीलाई १ अर्ब ४७ करोड ७७ लाख रुपैयाँ भुक्तानी दिइनेछ।
यसअघि, राष्ट्र बैंकले २०८२ साउन ९ गते (२५ जुलाई २०२५) मा राइजिङ नेपाल दैनिक र बैंकको वेबसाइटमार्फत बोलपत्र आह्वान गरेको थियो। प्राप्त प्रस्तावहरूमध्ये न्यूनतम मूल्याङ्कन र प्रभावकारी प्रस्तावका आधारमा सो चिनियाँ कम्पनी चयन गरिएको राष्ट्र बैंकले जनाएको छ।
सम्झौता सार्वजनिक खरिद नियमावली, २०६४ (चौधौँ संशोधन, २०८२) को दफा १३७ र नोट छपाइ तथा सिक्का टकमरी सम्बन्धी निर्देशिका, २०६५ (दोस्रो संशोधन २०८१ सम्म संशोधित) को दफा ५४ बमोजिम गरिएको पनि बैंकले स्पष्ट पारेको छ।

