काठमाडौं थापाथली–११ स्थित शिखा फ्लावर एण्ड प्लान्ट नर्सरी प्रवेश गर्नेबित्तिकै विभिन्न रंग र प्रजातिका फूल, प्लान्ट तथा बिरुवाले जोकोहीको मन लोभ्याउँछन्। नर्सरी खेतिमा देखिने हरियाली र फूलको सुन्दरता पछाडि भने वर्षौंको मेहनत, संघर्ष र लगनशीलताको कथा जोडिएको छ।
यही हरियालीलाई आफ्नो जीवनको आधार बनाउँदै आएका छन् ललितपुर चापागाउँका रमेश सञ्जेल। उनले नर्सरी व्यवसाय गरेको २० वर्ष भयो। अरुको नर्सरी फार्ममा काम गरेर आवश्यक ज्ञान, सीप र तालिम प्राप्त गरेपछि रमेशले आफ्नै नर्सरी व्यवसाय सुरु गरेका हुन्। सामान्य व्यवसायका रूपमा सुरु गरिएको उनको नर्सरी परिवारको मुख्य आयस्रोत बनेको छ। नर्सरी व्यवसायबाट हुने आम्दानीले छोराछोरीको शिक्षा तथा घरपरिवारका दैनिक आवश्यकताहरू पूरा गर्दै आएका छन्।

रमेशको परिवारमा श्रीमान्–श्रीमती, दुई छोरा र एक छोरी गरी पाँच जना सदस्य रहेका छन्। नर्सरीमा उनले फूल तथा बिरुवा उत्पादन र बिक्री गर्ने कामलाई आफ्नो पेशा मात्र नभई जीवनको आधारका रूपमा लिएका छन्।
उनले नर्सरी व्यवसाय सञ्चालन गर्न सुरुमा ५ लाख रुपैयाँ ऋण लिएर लगानी गरेका थिए। नर्सरी व्यवसायबाट अहिले दैनिक ४ हजारदेखि १० हजार रुपैयाँसम्म आम्दानी हुँदै आएको उनी बताउँछन्। उनका अनुसार नर्सरीबाट मासिक २ लाखदेखि २ लाख ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ।
रमेशका अनुसार, नर्सरीमा हाल करिब १४ प्रकारका विभिन्न फूल तथा १६ प्रकारका विभिन्न प्लान्टहरू रहेका छन्। ग्राहकको मागअनुसार उनले थाइल्यान्ड र भारतबाट विभिन्न प्रजातिका बिरुवा आयात गर्दै आएका छन्।
उनका अनुसार, बिरुवाको उत्पादनका लागि आफ्नै दुईवटा नर्सरी भैसेपाटी र सुनाकोटीमा छन्। आयात गरिएका तथा आफ्नै नर्सरीमा उत्पादन गरिएका बिरुवाहरूको बिक्री भने शिखा फ्लावर एण्ड प्लान्ट नर्सरीमार्फत बिक्री हुँदै आएको छ। व्यवसायलाई निरन्तरता दिन उनले ८ जनालाई रोजगारीसमेत दिएका छन्।
नर्सरी व्यवसाय सञ्चालनका क्रममा विभिन्न चुनौतीको सामना गर्नुपरेको उनी बताउँछन्। व्यवसाय सञ्चालनका लागि आवश्यक जग्गा भाडामा लिनुपर्ने भएकाले हरेक महिना ठूलो रकम खर्च हुने गरेको छ। उनका अनुसार जग्गा भाडा मासिक ७० हजार रुपैयाँ तिर्नुपर्छ भने ८ जना कर्मचारीको तलबमा १ लाख २० हजार रुपैयाँ खर्च हुने गरेको छ। त्यसैगरी, नर्सरीमा आवश्यक मल, पानी र बिजुलीको खर्च पनि नियमित रूपमा व्यहोर्नुपर्ने अवस्था रहेको उनी बताउँछन्।

दशैँ तिहारको समयमा नर्सरीमा बिरुवाको माग बढ्ने गरेपनि त्यसपछि भने माग घट्ने गरेको उनी बताउँछन्। बजारको माग सधैँ एकनास नहुने भएकाले नर्सरी व्यवसायमा चुनौती थपिने गरेको छ। पर्याप्त जग्गा नहुँदा आफूले चाहेजति बिरुवा उत्पादन गर्न नसकेको रमेशको श्रिमती साबित्रीको गुनासो छ। अहिले उपलब्ध जग्गा सीमित भएकाले मागअनुसार बिरुवा उत्पादन तथा नर्सरी विस्तार गर्न कठिन भइरहेको उनी बताउछिन्।
“नर्सरी व्यवसायलाई व्यवस्थित रूपमा विस्तार गर्न पर्याप्त जग्गा आवश्यक पर्छ। सरकारले आवश्यक जग्गा उपलब्ध गराइदिए अझ व्यवस्थित रूपमा व्यवसाय सञ्चालन गर्न सकिन्थ्यो,” सावित्रीले भनिन्।
भाडामा लिएको जमिन पटकपटक सार्नुपर्ने भएकाले उनले थप समस्या भोग्नु परेको छ। एक ठाउँमा ग्राहक बनाइ नर्सरी स्थापित हुन नपाउँदै जग्गाको सम्झौता सकिने र जग्गा धनीले जग्गा बेच्ने जस्ता कारणले नर्सरी व्यवसायमा रमेशले चुनौति भोगिरहेका छन्।

रमेशका अनुसार नर्सरी व्यवसायमा फूल र बिरुवा बेचेर मात्र आम्दानी गर्ने नभइ त्यसका लागि निरन्तर हेरचाह, पानी, मल, श्रम र समय आवश्यक हुन्छ। एउटा बिरुवा तयार भएर बिक्रीयोग्य हुन लामो समय लाग्ने भएकाले तत्काल नाफा खोज्ने व्यवसायभन्दा यो फरक रहेको उनको अनुभव छ।
विभिन्न समस्या र चुनौतीका बीच पनि उनले आफ्नो व्यवसायलाई निरन्तरता दिइरहेका छन्। उनको अनुभवले मेहनत र निरन्तरताका साथ स्थानीयस्तरमै सानो व्यवसायबाट पनि परिवारको आवश्यकता पूरा गर्न सकिने र रोजगारी पनि सिर्जना गर्न सकिने उदाहरण उनले प्रस्तुत गरेका छन्।

प्रतिक्रिया दिनुहोस