कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पुष्प तथा नर्सरी व्यवसायको विकास, विस्तार र प्रवर्द्धनका लागि सरकारले आवश्यक नीतिगत तथा प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन्।
मंगलबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित पुष्प मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले नर्सरी व्यवसायको विकासका लागि मन्त्रालय सकारात्मक रहेको बताएकी हुन्।
उनले गुणस्तरीय नर्सरी स्थापनाका लागि सहयोग तथा अनुदान, फलफूलका बिरुवा वितरणलगायतका कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै व्यवसायीका समस्या समाधानमा मन्त्रालयले सहकार्य गर्ने बताइन्।नर्सरी व्यवसायमा महिलाको सहभागिता बढ्दै गएकोमा खुसी व्यक्त गर्दै उनले रैथाने फूल तथा नेपालमै उत्पादित वस्तुको प्रवर्द्धनमा जोड दिन व्यवसायीलाई आग्रह गरिन्।
मन्त्री चौधरीले नर्सरी व्यवसायीले जग्गा प्राप्तिमा भोग्दै आएको समस्या समाधानका लागि सरकारले भूमि बैंकको अवधारणा अघि बढाउन लागेको जानकारी दिइन्। यसबाट व्यवसायीलाई आवश्यक जग्गा उपलब्ध गराउन सहज हुने उनको विश्वास छ।
उनले भनिन्, ‘कृषि, वन तथा पर्यावरण मन्त्रालय र मेरो व्यक्तिगत तर्फबाट नर्सरी व्यवसायको विकास, विस्तार र प्रवर्द्धनका लागि आवश्यक नीतिगत एवं प्राविधिक सहयोग र सहकार्य गर्न मन्त्रालय सधैँ तत्पर छ।’
यसैगरी, नर्सरी व्यवसायी संघ नेपालका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले पुष्प तथा नर्सरी व्यवसायको विस्तारका लागि सरकारी खाली जग्गाको उपयोग, सहरी क्षेत्रमा नर्सरी बजार स्थापना र सातै प्रदेशमा मेला तथा प्रदर्शनी आयोजना गर्नुपर्ने माग राखेका छन्।
उनले सरकारी स्वामित्वमा लामो समयदेखि खाली रहेका जग्गालाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गरी फूल, फलफूल तथा जडीबुटीको व्यावसायिक खेती विस्तार गर्नुपर्ने बताए।विशेषगरी तिहारका बेला सयपत्री फूल आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्न स्वदेशी उत्पादन बढाउने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए। नेपालमै सयपत्री फूलको उत्पादन बढाएर आत्मनिर्भर बन्न सकिने उनको भनाइ छ।
त्यस्तै, सहरी क्षेत्रमा खाली रहेका जग्गामा नर्सरी बजार स्थापना गर्न तथा सातै प्रदेशमा प्रदेशस्तरीय मेला, प्रदर्शनी र तालिम सञ्चालन गर्नुपर्ने माग पनि उनले राखे।
तिमिल्सिनाले जडीबुटी तथा फलफूलको व्यावसायिक खेती विस्तारका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताए। भौगोलिक अवस्था र सम्भावनाका आधारमा खाली जग्गामा फूल, फलफूल तथा जडीबुटी खेती गर्न सकिने उल्लेख गर्दै उनले उत्पादित वस्तुको बजार सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
यसका साथै जडीबुटी प्रशोधन केन्द्र तथा सम्बन्धित संघसंस्थासँग सहकार्यको वातावरण बनाउन र फलफूलको गुणस्तरीय बिरुवा उत्पादन तथा बजार व्यवस्थापनमा ध्यान दिन उनले सरकारसँग आग्रह गरे।व्यवसायीले उठाएका मागबारे मन्त्रीसँग थप छलफल गरी आगामी कार्यक्रमको खाका तयार गर्ने तयारी रहेको संघका अध्यक्ष तिमिल्सिनाले बताए।
नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा मंगलबारदेखि भृकुटीमण्डपमा सुरु भएको पुष्प तथा नर्सरी मेला चार दिनसम्म सञ्चालन हुनेछ।
प्रतिक्रिया दिनुहोस