नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित एक्स्ट्रिम इनर्जी ड्रिंकले ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु गरेको छ। अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
एक्स्ट्रिम इनर्जी ड्रिंकको अवधारणामा आधारित यस सिरिजको व्यवस्थापन आर्बिट्ररी रेकड्र्सले गरिरहेको छ भने निर्माण एनएफटीपी (नर्थ फ्रम दिस प्लानेट) ले गरिरहेको छ। सिरिजअन्तर्गत प्रत्येक दुई सातामा एउटा नयाँ मौलिक गीत सार्वजनिक गरिनेछ। सिरिजका गीत तथा सङ्गीत भिडियोहरू ‘एक्स्ट्रिम म्युजिक सिरिज’ को युट्युब च्यानलमार्फत हेर्न र सुन्न सकिनेछ।
सिरिजको पहिलो सिजनमा याबेश, एसटीम्यान, भेक, व्योमा, ब्लुज, बिजेन, फोकटोनिक्स, डोङ र क्रिजेन गरी नौ जना कलाकार सहभागी हुनेछन्। प्रत्येक कलाकारले आफ्नो विशिष्ट सङ्गीत शैली र सिर्जनात्मक पहिचानमार्फत सिरिजलाई विविधतापूर्ण र रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।
परम्परागत शैलीभन्दा फरक सङ्गीत प्रयोग, सिर्जनात्मक सहकार्य र स्वतन्त्र अभिव्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले यो पहल गरिएको आयोजकले जनाएको छ। नयाँ पुस्ताका कलाकारलाई आफ्ना सिर्जना प्रस्तुत गर्ने अवसर प्रदान गर्दै नेपाली सङ्गीत क्षेत्रमा नवीन प्रयोग र मौलिकतालाई प्रोत्साहन गर्नु सिरिजको प्रमुख उद्देश्य रहेको छ।
एक्स्ट्रिम इनर्जी ड्रिंकले यस सिरिजमार्फत नेपाली सङ्गीत क्षेत्रका उदीयमान प्रतिभालाई उजागर गर्नुका साथै स्थानीय सङ्गीत संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरेको छ।
प्रतिक्रिया दिनुहोस