नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ। काठमाडौं बाहिर धार्मिक यात्रामा रहेका शिवाकोटीलाई फोनमार्फत सम्पर्क गरी ब्युरोमा उपस्थित हुन भनिएको हो। शिवाकोटीले आफू काठमाडौं फर्किएपछि ब्युरोमा जाने बताएका छन्।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले सरकारको भय र भ्रमबाट आफू विचलित नहुने बताएका छन्। उनले आफूलाई प्रहरीले खोज्नुपर्ने अवस्था नरहेको भन्दै काठमाडौं फर्किरहेको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्न, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु।’
शिवाकोटीले पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमार्फत सरकारले विधि र विधान मिचेर काम गरिरहेको तथा नेपाली कांग्रेसलाई अनावश्यक विवादमा फसाउन खोजेको आरोप लगाउँदै आएका छन्।
ब्युरो स्रोतका अनुसार पत्रकार रोशन खड्काले दिएको उजुरीका आधारमा शिवाकोटीलाई बोलाइएको हो।
शिवाकोटीले सामाजिक सञ्जालमा खड्काको भनाइप्रति प्रश्न उठाउँदै प्रतिपक्षले जिम्मेवार ढंगले उठाएका प्रश्नको सरकारले पनि जिम्मेवार ढंगले जवाफ दिनुपर्ने बताएका थिए।
उनले बिचौलिया भनिएका प्रहरी हिरासतमा रहेका इनम सापकोटाले प्रहरीलाई दिएको भनिएको बयानको अडियो रेकर्डका विषयमा समेत सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका थिए।
प्रतिक्रिया दिनुहोस