२०८३, कार्तिक ९ गते

टी-२० विश्वकपका सर्वाधिक रनकर्ता साहिबजादा फरहान कर्णाली याक्सबाट एनपीएल खेल्ने

शुक्रवार , कार्तिक ७, २०८३

पाकिस्तानका ब्याटर साहिबजादा फरहानले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सन् २०२६ मा कर्णाली याक्सबाट खेल्ने भएका छन्। कर्णाली याक्सले शुक्रबार फरहानलाई टोलीमा अनुबन्ध गरेको औपचारिक जानकारी दिएको हो।

कर्णाली याक्सले सामाजिक सञ्जालमार्फत फरहानलाई टोलीमा स्वागत गर्दै उनलाई सन् २०२६ को आईसीसी पुरुष टी-२० विश्वकपका सर्वाधिक रनकर्ता भनेर उल्लेख गरेको छ।

भारत र श्रीलंकामा आयोजित टी-२० विश्वकपमा फरहानले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले प्रतियोगिताका ६ खेलमा दुई शतकसहित ३८३ रन बनाएका थिए। यो पुरुष टी-२० विश्वकपको एउटै संस्करणमा कुनै पनि ब्याटरले बनाएको सर्वाधिक रन हो।

३० वर्षीय दायाँहाते ब्याटर फरहान पाकिस्तानका लागि एकदिवसीय अन्तर्राष्ट्रिय र टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका अनुभवी खेलाडी हुन्। उनले पाकिस्तानका लागि ५१ टी-२० अन्तर्राष्ट्रिय खेलमा दुई शतक र १३ अर्धशतकसहित १ हजार ५५४ रन बनाएका छन्।

समग्र टी-२० क्रिकेटमा उनले १८६ खेलबाट नौ शतक र ३८ अर्धशतकसहित ५ हजार ७७५ रन बनाइसकेका छन्। उनले यसअघि लङ्का प्रिमियर लिग (एलपीएल), पाकिस्तान सुपर लिग (पीएसएल) र बङ्गलादेश प्रिमियर लिग (बीपीएल) मा खेलिसकेका छन्। एनपीएल उनको चौथो विदेशी फ्रेन्चाइज लिग हुनेछ।

कर्णाली याक्सले फरहानअघि पाकिस्तानका अलराउन्डर हुसेन तलत तथा बङ्गलादेशका अक्बर अली र अरिफुल इस्लामलाई पनि टोलीमा अनुबन्ध गरिसकेको छ।

एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ। विश्वकपमा कीर्तिमानी प्रदर्शन गरेका फरहानको आगमनले कर्णाली याक्सको ब्याटिङलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images