२०८३, कार्तिक २० गते

काठमाडौं महानगरमा प्लास्टिकका फूल र माला बिक्रीमा प्रतिबन्ध

मंगलवार , कार्तिक १७, २०८३

नजिकिँदै गरेको दीपावली (तिहार) पर्वलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामग्री बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएको छ।

महानगरपालिकाले स्वदेशी फूल तथा मालाको प्रयोगलाई प्राथमिकता दिन आग्रह गर्दै व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई नेपाली किसानले उत्पादन गरेका फूलमाला खरिद तथा बिक्री गर्न अनुरोध गरेको छ।

काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालयअन्तर्गत महानगर प्रहरी बलले सूचना जारी गर्दै प्रतिबन्धित प्लास्टिकजन्य तथा गुणस्तरहीन फूल, माला र सजावटका सामग्री बिक्री वितरण गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिने चेतावनी दिएको छ।

नेपाली किसानले उत्पादन गरेका फूल तथा मालाले उचित बजार पाऊन् र उपभोक्तालाई सहज रूपमा उपलब्ध होऊन् भन्ने उद्देश्यले महानगरले विभिन्न स्थानलाई बिक्री केन्द्रका रूपमा तोकेको छ।

महानगरले नयाँ बानेश्वरको एनबी सेन्टर र आईप्लेक्स मल, शंखमुलको बिग मार्ट, मध्य बानेश्वरको सेल्सबेरी, बत्तीसपुतलीको फोनेक्स टावर, तीनकुने चौर र सिफल चौरलाई फूल बिक्री स्थल तोकेको छ।

त्यस्तै, चाबहिल क्षेत्रका एसी कम्प्लेक्स, गणेशस्थान तरकारी बजार र केएल टावर अगाडि पनि फूल बिक्री गर्न पाइनेछ। कमलादीको आईटी बिल्डिङ, पुतलीसडकको स्टार मल, अनामनगरको भाटभटेनी, सुन्धाराको काठमाडौं मल र न्युप्लाजास्थित बज्र कम्प्लेक्स (गुड मार्ट) पनि बिक्री स्थलका रूपमा तोकिएका छन्।

यसैगरी, स्वयम्भूको धर्म चक्र पार्क, कलङ्कीको भाटभटेनी, नयाँ बजारको भ्याली कोल्ड स्टोर, माछापोखरीको बुद्ध मल तथा गुणस्तर खाल्डोमा पनि फूल बिक्री गर्न सकिनेछ।

महानगरले कालिमाटी ब्याङ्क्वेट र चौखेल, हाँडीगाउँको वडा नम्बर ५ कार्यालय अगाडिको डबली तथा गणेश मन्दिर डबली, सामाखुशीको कोइराला स्मार्ट, महाराजगञ्जको सेल्सबेरी, गोंगबु, चप्पलकारखाना र बालुवाटारको बिग मार्टलाई समेत बिक्री स्थल तोकेको छ।

त्यसैगरी, टेबहाल मन्दिर परिसर, लगन, जैसिदेवल र भृकुटीमण्डपमा पनि स्वदेशी फूल तथा माला बिक्री गर्न पाइने महानगरले जनाएको छ।

महानगरपालिकाले तिहारमा स्वदेशी फूलको प्रयोग बढाउँदै नेपाली किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त व्यवस्था लागू गरेको जनाएको छ। यससम्बन्धी थप जानकारी तथा सहजीकरणका लागि व्यवसायी र सर्वसाधारणले काठमाडौं महानगर प्रहरी बलको कार्यालयमा सम्पर्क गर्न सक्ने सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images