नेपाल आयल निगमले तिहार तथा छठ पर्वका सार्वजनिक बिदाका दिनमा पनि विभिन्न स्थानका इन्धन डिपो खुला राख्ने भएको छ ।
उपभोक्तालाई पेट्रोलियम पदार्थको सहज आपूर्ति तथा बिक्री वितरण सुनिश्चित गर्ने उद्देश्यले निगमले सातै प्रदेशका प्रादेशिक कार्यालय, शाखा कार्यालय तथा विभिन्न इन्धन डिपो सञ्चालनमा राख्ने जनाएको छ ।
निगमका अनुसार कात्तिक २१, २२, २३ र २६ गते आवश्यकताअनुसार विभिन्न डिपो तथा कार्यालय खुला रहनेछन् ।
पर्वका समयमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन र उपभोक्तालाई सहज रूपमा इन्धन उपलब्ध गराउन यस्तो व्यवस्था गरिएको निगमले जनाएको छ ।
त्यस्तै, पेट्रोलियम पदार्थको आपूर्ति तथा उपलब्धतामा कुनै समस्या देखिए सम्बन्धित निकायमा सम्पर्क गर्न पनि निगमले उपभोक्तालाई अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस