२०८३, कार्तिक १९ गते

तीन महिनामै विद्युत् निर्यातबाट १६ अर्बभन्दा बढी आम्दानी

मंगलवार , कार्तिक १७, २०८३

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामै विद्युत् निर्यातबाट १६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो १५ दिनको कार्यप्रगति विवरणअनुसार साउन, भदौ र असोज महिनामा विद्युत् निर्यातबाट १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।

मन्त्रालयका अनुसार असोज महिनामा मात्रै नेपालले भारततर्फ ६३ करोड ३९ लाख युनिट विद्युत् निर्यात गरेको छ। उक्त निर्यातबाट प्राधिकरणले ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ।

भारततर्फ विद्युत् निर्यात क्षमता १ हजार १७९ मेगावाट

नेपालले भारततर्फ थप ३१ मेगावाट विद्युत् निर्यात गर्ने अनुमति प्राप्त गरेको छ। नयाँ अनुमति प्राप्त भएसँगै भारततर्फ विद्युत् निर्यात गर्न सक्ने नेपालको कुल क्षमता करिब १ हजार १७९ मेगावाट पुगेको मन्त्रालयले जनाएको छ।

यसले नेपालको अतिरिक्त विद्युत् भारतीय बजारमा बिक्री गर्ने अवसर थप विस्तार गरेको छ।

बङ्गलादेशतर्फको विद्युत् निर्यात पुनः सुरु

यसैबीच, केही समयअघि आएको बाढीका कारण अवरुद्ध भएको बङ्गलादेशतर्फको विद्युत् निर्यात पनि पुनः सुचारु भएको छ।

मन्त्रालयका अनुसार बाढीका कारण रोकिएको ४० मेगावाट विद्युत् निर्यात फेरि सुरु गरिएको हो।

भारततर्फ निर्यात क्षमता वृद्धि हुनु र बङ्गलादेशतर्फको निर्यात पुनः सञ्चालनमा आउनुले नेपालको विद्युत् व्यापार विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images