यस वर्ष २०८३ सालको भाइटीकाको शुभसाइत सार्वजनिक भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य लक्ष्मण पन्थीका अनुसार कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको छ।
समितिका अनुसार यस वर्ष यमपञ्चकका पर्वहरू कात्तिक २० गते शुक्रबारदेखि सुरु हुनेछन्।यमपञ्चकको पहिलो दिन कात्तिक २० गते धनत्रयोदशी (धन्तेरस) र यमदीपदान गरिनेछ। कात्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरि जयन्ती मनाइनेछ।
त्यस्तै, कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ। कात्तिक २३ गते सोमबार गाईपूजा मनाइनेछ।
कात्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार र म्हपूजा मनाइनेछ। सोही दिन नेपाल संवत् ११४७ प्रारम्भ हुनेछ।
यमपञ्चकको अन्तिम दिन कात्तिक २५ गते बुधबार यमद्वितीया अर्थात् भाइटीका मनाइने समितिले जनाएको छ।समितिले भाइटीकाका दिन दाजुभाइ पश्चिम फर्किएर र दिदीबहिनी पूर्व फर्किएर टीका लगाउनुपर्ने जनाएको छ।
यस दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिने धार्मिक तथा सांस्कृतिक परम्परा रहेको छ।
प्रतिक्रिया दिनुहोस