वैदेशिक रोजगार बोर्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने नेपाली श्रमिकका परिवार तथा आफन्तका लागि प्रतीक्षालय र विश्राम कक्ष सञ्चालनमा ल्याएको छ।
बोर्डको १८औँ स्थापना दिवसको अवसर पारेर बिहीबारदेखि उक्त सेवा सञ्चालनमा ल्याइएको हो।
वैदेशिक रोजगारीका क्रममा जीवन गुमाएका नेपाली श्रमिकको शव लिन विमानस्थल पुग्ने परिवार तथा आफन्तले लामो समय कुर्नुपर्ने अवस्थालाई सहज बनाउने उद्देश्यले विश्राम कक्ष सञ्चालन गरिएको बोर्डका कार्यकारी निर्देशक निर्मलकुमार उप्रेतीले जानकारी दिए।
उनका अनुसार वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन बोर्डले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
बोर्डले पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने तथा डिजिटल सामग्रीको पहुँच श्रमिक र समुदायस्तरसम्म पुर्याउने काम गरिरहेको जनाएको छ।त्यस्तै, गन्तव्य मुलुकका सरकारसँग हुने श्रम सम्झौतामा श्रमिकका हित र सामाजिक सुरक्षाका विषय समेट्न आवश्यक समन्वय तथा सहकार्य भइरहेको उप्रेतीले बताए।
वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको पुनःएकीकरण, सीपमूलक तालिम सञ्चालन तथा सीप प्रमाणीकरणमा सहयोग गर्ने कार्यक्रमलाई समेत प्रभावकारी बनाउने काम भइरहेको बोर्डले जनाएको छ।
प्रतिक्रिया दिनुहोस