ग्लोबल आइएमई बैंकले काठमाडौंको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण गर्ने भएको छ। भवन निर्माणको औपचारिक सुरुवात गर्दै आज भूमिपूजा गरिएको बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
ढकालका अनुसार करिब १ लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा फैलिने प्रस्तावित भवन १२ तलाको हुनेछ। भवनमा कर्मचारी तथा सेवाग्राहीका लागि दुई तहको भूमिगत पार्किङसमेत निर्माण गरिनेछ। भवन निर्माणमा आधुनिक इन्जिनियरिङ प्रविधि र वातावरणीय दिगोपनलाई प्राथमिकता दिइने ढकालले बताएका छन्। उनका अनुसार जमिनको स्थिरता र आसपासको सुरक्षालाई ध्यानमा राखेर ‘सेक्यान्ट पाइलिङ’ प्रविधि प्रयोग गरिनेछ।

त्यस्तै, वर्षाको पानी संकलन तथा पुनःप्रयोग गर्ने प्रणाली (रेन वाटर हार्भेस्टिङ) र सौर्य ऊर्जा प्रणाली जडान गरी भवनलाई ऊर्जा-दक्ष तथा वातावरणमैत्री बनाउने योजना छ। ढकालले नयाँ भवनलाई बैंकको संस्थागत विकास, ग्राहकप्रतिको उत्तरदायित्व र भविष्यको योजनासँग जोडिएको पूर्वाधारका रूपमा व्याख्या गरेका छन्। यसले बैंकका वित्तीय सेवाहरूलाई थप सहज, प्रविधिमैत्री र प्रभावकारी बनाउन सहयोग पुग्ने उनको विश्वास छ।
ग्लोबल आइएमई बैंकले मुलुकका ७७ वटै जिल्लामा वित्तीय पहुँच विस्तार गरेको पनि ढकालले उल्लेख गरेका छन्। उनले बैंकलाई अहिलेको अवस्थामा पुर्याउन सहयोग गर्ने ग्राहक, सेयरधनी, नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा नियामक निकाय र बैंकका कर्मचारीप्रति आभार व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस