नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबरका झुत्रा, मैला तथा च्यातिएका नोट नष्ट गरेको छ। चलनचल्तीमा प्रयोग गर्न अयोग्य भएका विभिन्न दरका नोट धुल्याएर ब्रिकेट बनाइएको केन्द्रीय बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्था र सर्वसाधारणले जम्मा गर्न तथा सट्टाभर्ना लिन ल्याएका पुराना र प्रयोग गर्न अयोग्य नोट नष्ट गरिएको हो।
यसैबीच, मुलुकमा चलनचल्तीमा रहेको नोटको परिमाण पनि बढेको छ। २०८२ असार मसान्तसम्म विभिन्न दरका गरी ७ खर्ब ६१ अर्ब ४१ करोड रुपैयाँ बराबरका नोट चलनचल्तीमा रहेकामा २०८३ असार मसान्तसम्म ६.०८ प्रतिशतले वृद्धि भई ८ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ।
केन्द्रीय बैंकले बैंक नोटको सुरक्षण विशेषता तथा प्राविधिक स्पेसिफिकेसनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार अद्यावधिक र परिमार्जन गर्दै नोटलाई थप सुरक्षित तथा गुणस्तरीय बनाउँदै लगेको जनाएको छ। बैंक नोटको डिजाइन, छपाइ तथा आपूर्तिका लागि ६ वटा अन्तर्राष्ट्रिय सेक्युरिटी प्रिन्टर्स कम्पनीलाई पूर्वयोग्यता सूचीमा समावेश गरिएको पनि राष्ट्र बैंकले जनाएको छ।
गत आर्थिक वर्षमा ५ रुपैयाँ दरका ३५ करोड थान नोट करार सम्झौताअनुसार आपूर्ति भई केन्द्रीय बैंकको ढुकुटीमा राखिएका छन्। त्यस्तै, १० रुपैयाँ दरका ३४ करोड थान नोट छपाइ तथा आपूर्तिका लागि सम्झौता भएकामा पहिलो र दोस्रो लटअन्तर्गत २३ करोड थान नोट आपूर्ति भइसकेका छन्।
त्यसैगरी, १०० रुपैयाँ दरका ३० करोड थान नोट छपाइ तथा आपूर्तिका लागि सम्झौता भएकामा २१ करोड थान नोट आपूर्ति भई ढुकुटीमा राखिएका छन्। ५०० रुपैयाँ दरका २३ करोड थान नोटमध्ये पहिलो लटमा १२ करोड थान आपूर्ति भएका छन्।
यसैगरी, ५० रुपैयाँ दरका ४२ करोड थान र १ हजार रुपैयाँ दरका ४३ करोड थान नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि करार सम्झौता गरिएको राष्ट्र बैंकले जनाएको छ।
२०८३ असार मसान्तसम्म विभिन्न दरका गरी ८८ अर्ब ९४ करोड ८ लाख ५० हजार रुपैयाँ बराबरका नयाँ नोट केन्द्रीय बैंकको मौज्दातमा रहेका छन्। अघिल्लो आर्थिक वर्षमा यस्तो मौज्दात ५१ अर्ब ५१ करोड ८२ लाख ४९ हजार रुपैयाँ बराबर थियो।
प्रतिक्रिया दिनुहोस