२०८३, मंसिर ४ गते

images
आफ्नो पैसा आफैं जोगाऔँ – Business News Nepal Financial Literacy Special :

पैसाको पाठशाला: भोलि आम्दानी रोकियो भने तपाईं कति महिना टिक्न सक्नुहुन्छ? (अंक ५)

आइतवार , कार्तिक २९, २०८३

कल्पना गर्नुहोस्, तपाईंको परिवारको मुख्य आम्दानीको स्रोत भोलिदेखि बन्द भयो। जागिर गुम्यो, व्यवसायमा समस्या आयो वा स्वास्थ्यका कारण केही महिना काम गर्न सक्नुभएन। यस्तो अवस्थामा घरभाडा, खाना, बालबालिकाको पढाइ, औषधि, बिजुली–पानी र ऋणको किस्ता कसरी तिर्नुहुन्छ? तपाईंको परिवार कति समयसम्म नियमित आम्दानीबिना चल्न सक्छ?

एक महिना? दुई महिना? तीन महिना? वा केही सातामै दैनिक खर्च धान्न ऋण खोज्नुपर्ने अवस्था आउँछ? धेरै परिवारले आम्दानीको केही हिस्सा बचत त गर्छन्, तर त्यो बचत कुन उद्देश्यका लागि हो भन्ने स्पष्ट हुँदैन। कतिपयले घरजग्गा, गाडी वा अन्य सम्पत्तिलाई आर्थिक सुरक्षाको आधार ठान्छन्। तर संकटका बेला सम्पत्ति तुरुन्त नगदमा बदल्न सकिँदैन। बैंकमा रहेको सबै बचत पनि आकस्मिक आवश्यकताका लागि छुट्याइएको नहुन सक्छ।

नेपाल राष्ट्र बैंकले सन् २०२२ मा सार्वजनिक गरेको वित्तीय साक्षरतासम्बन्धी आधार सर्वेक्षणले पनि यस्तो आर्थिक तयारीको अवस्थाबारे महत्त्वपूर्ण तथ्य देखाएको छ। सर्वेक्षणमा सहभागीमध्ये ६४.८९ प्रतिशत वयस्कले आम्दानी अचानक रोकिँदा तीन महिनाभन्दा कम समय धान्न पुग्ने आर्थिक सञ्चिति रहेको बताएका थिए। त्यस्तै, १९.५७ प्रतिशतसँग मात्रै छ महिनाभन्दा बढी समय धान्न पुग्ने आर्थिक सञ्चिति रहेको देखिएको थियो। सर्वेक्षणको यो नतिजाले नेपाली परिवारको आर्थिक सुरक्षाका लागि नियमित आम्दानीसँगै आकस्मिक अवस्थाको तयारी पनि आवश्यक रहेको देखाउँछ।

यही जोखिमबाट जोगिन बनाइने आर्थिक सुरक्षाको आधार हो, आपत्कालीन कोष (Emergency Fund)। यो केवल पैसा जम्मा गर्ने अभ्यास होइन, आम्दानीमा अवरोध आउँदा पनि परिवारको आधारभूत आवश्यकता र आर्थिक दायित्व पूरा गर्न केही समयसम्म सहयोग गर्ने सुरक्षा व्यवस्था हो।

आपत्कालीन कोष किन आवश्यक छ?
आर्थिक जीवन सधैँ एउटै गतिमा चल्दैन। जागिर गुम्न सक्छ, व्यवसायमा मन्दी आउन सक्छ, परिवारको मुख्य आम्दानी गर्ने व्यक्ति बिरामी पर्न सक्छ वा अचानक ठूलो स्वास्थ्य खर्च आइपर्न सक्छ। यस्ता घटना कहिले र कति खर्चसहित आउँछन् भन्ने पूर्वानुमान गर्न सकिँदैन। तर तिनको आर्थिक असर कम गर्न भने पहिल्यै तयारी गर्न सकिन्छ।

आम्दानी रोकिँदा पनि घरभाडा, खाद्यान्न, औषधि, बालबालिकाको आधारभूत शैक्षिक खर्च र ऋणको किस्ता रोकिँदैनन्। आम्दानीको विकल्प तयार नहुँदासम्म यस्ता खर्च धान्न नसकिए परिवार ऋण लिन बाध्य हुन सक्छ। त्यसले आर्थिक समस्या झन् गहिरो बनाउन सक्छ।

आपत्कालीन कोषको मुख्य उद्देश्य यही अवस्थाबाट जोगाउनु हो। यसले आम्दानीमा अवरोध आउँदा घरखर्च धान्न, आधारभूत आवश्यकता पूरा गर्न र तत्कालै महँगो ब्याजको ऋण लिनुपर्ने अवस्था कम गर्न सहयोग गर्छ।

यसलाई घर किन्ने, गाडी खरिद गर्ने, छोराछोरीको उच्च शिक्षा वा अवकाश जीवनका लागि छुट्याइएको बचतसँग मिसाउनु हुँदैन। ती दीर्घकालीन लक्ष्यका लागि हुन्। आपत्कालीन कोष भनेको अनिश्चित परिस्थितिका लागि छुट्याइएको रकम हो।

बैंकमा पैसा हुनु र आपत्कालीन कोष हुनु फरक कुरा
मानौँ, कुनै व्यक्तिको बैंक खातामा एक लाख रुपैयाँ छ। तर त्यसमध्ये ५० हजार रुपैयाँ छोराछोरीको शुल्कका लागि, ३० हजार रुपैयाँ चाडपर्वका लागि र २० हजार रुपैयाँ मात्रै आकस्मिक अवस्थाका लागि छुट्याइएको छ।

बैंक खातामा एक लाख रुपैयाँ भए पनि उसको आपत्कालीन कोष २० हजार रुपैयाँ मात्र हो। त्यसैले बचत रकमलाई उद्देश्यअनुसार छुट्याउनुपर्छ। सामान्य बचतले भविष्यका विभिन्न लक्ष्य पूरा गर्न सहयोग गर्छ भने आपत्कालीन कोषले अचानक आइपर्ने आर्थिक संकट सामना गर्न मद्दत गर्छ।

कति रकम आवश्यक पर्छ?
आपत्कालीन कोष कति हुनुपर्छ भन्ने प्रश्नको एउटै उत्तर हुँदैन। सामान्य वित्तीय योजनामा कम्तीमा तीनदेखि छ महिनासम्मको आवश्यक घरायसी खर्च धान्न पुग्ने रकमलाई उपयोगी लक्ष्य मानिन्छ। तर यो सबैका लागि लागू हुने अनिवार्य नियम होइन।

नियमित तलब आउने व्यक्तिको अवस्था र आम्दानी अनियमित हुने स्वरोजगार व्यक्तिको अवस्था फरक हुन्छ। परिवारमा कमाउने व्यक्ति एक जना मात्र छन्, साना बालबालिका वा ज्येष्ठ नागरिक आश्रित छन्, ऋणको किस्ता ठूलो छ वा अर्को आम्दानीको स्रोत छैन भने बढी रकमको आवश्यकता पर्न सक्छ।

त्यसैगरी, एकभन्दा बढी स्थिर आम्दानीका स्रोत भएका परिवारले तुलनात्मक रूपमा कम अवधिको लक्ष्यबाट सुरु गर्न सक्छन्। आम्दानी मौसमी वा अनियमित हुने किसान, व्यवसायी, स्वरोजगार व्यक्ति तथा दैनिक ज्यालादारी गर्ने श्रमिकले आम्दानी रोकिँदा अर्को स्रोतबाट पैसा आउने सुनिश्चितता कम हुने भएकाले बढी अवधिको कोष बनाउने लक्ष्य राख्नु उपयुक्त हुन्छ।

उदाहरणका लागि, तीन फरक परिवारको मासिक आवश्यक खर्चका आधारमा आपत्कालीन कोषको लक्ष्य यस्तो हुन सक्छ :

मासिक आवश्यक खर्च तीन महिनाको कोष छ महिनाको कोष
रु. २५ हजार रु. ७५ हजार रु. १ लाख ५० हजार
रु. ४० हजार रु. १ लाख २० हजार रु. २ लाख ४० हजार
रु. ६० हजार रु. १ लाख ८० हजार रु. ३ लाख ६० हजार

यी उदाहरण हुन्, सबै परिवारका लागि तोकिएका रकम होइनन्। आफ्नो वास्तविक खर्च, दायित्व र आम्दानीको स्थिरताका आधारमा लक्ष्य निर्धारण गर्नुपर्छ।

मासिक खर्च कसरी हिसाब गर्ने?
आपत्कालीन कोषको लक्ष्य निर्धारण गर्दा परिवारको मासिक खर्चलाई दुई भागमा छुट्याउनुपर्छ। पहिलो, नघटाई नहुने खर्च। यसमा घरभाडा, खाद्यान्न, बिजुली, पानी, औषधि, बालबालिकाको आधारभूत शैक्षिक खर्च, काममा जान आवश्यक यातायात खर्च र ऋणको अनिवार्य किस्ता पर्छन्।

दोस्रो, अवस्था हेरेर घटाउन वा केही समय रोक्न सकिने खर्च। यसमा मनोरञ्जन, बाहिर खाने बानी, अनावश्यक किनमेल, घुमफिर, महँगा सदस्यता तथा विलासिताका वस्तु पर्छन्।

आम्दानी रोकिएको अवस्थामा दोस्रो प्रकारका खर्च घटाउन सकिन्छ। त्यसैले आपत्कालीन कोषको हिसाब गर्दा नियमित जीवनशैली कायम राख्न लाग्ने सबै खर्च जोड्नुभन्दा पनि आधारभूत आवश्यकता र अनिवार्य दायित्वलाई प्राथमिकता दिनुपर्छ।

उदाहरणका लागि, कुनै परिवारको मासिक आम्दानी ६० हजार रुपैयाँ र कुल खर्च ५० हजार रुपैयाँ छ भने सबै ५० हजारलाई आपत्कालीन खर्च मान्नुपर्दैन। अनावश्यक खर्च हटाएपछि परिवारको न्यूनतम आवश्यक खर्च ३५ हजार रुपैयाँमा झर्छ भने कोषको हिसाब त्यही रकमबाट गर्न सकिन्छ।

अर्थात्, आपत्कालीन कोषको गणना मासिक आम्दानीका आधारमा होइन, आम्दानी रोकिँदा पनि गर्नैपर्ने खर्चका आधारमा गरिन्छ।

थोरै आम्दानी भए पनि कोष बनाउन सकिन्छ?
धेरैको धारणा आम्दानी पर्याप्त भएपछि बचत गरौँला भन्ने हुन्छ। तर आपत्कालीन कोष बनाउन ठूलो रकमबाटै सुरु गर्नुपर्छ भन्ने छैन। थोरै रकम नियमित रूपमा छुट्याउने बानी नै यसको सुरुवात हो।

उदाहरणका लागि, प्रत्येक हप्ता ५०० रुपैयाँ छुट्याउन सकियो भने एक वर्षमा २६ हजार रुपैयाँ जम्मा हुन्छ। महिनामा एक हजार रुपैयाँ छुट्याउँदा एक वर्षमा १२ हजार रुपैयाँ हुन्छ। रकम सानो देखिए पनि यसले आकस्मिक खर्चको केही हिस्सा धान्न सहयोग गर्छ।

यसका लागि केही व्यावहारिक उपाय अपनाउन सकिन्छ :
आम्दानी प्राप्त हुनेबित्तिकै छुट्याउने : महिनाको अन्त्यमा बाँकी रहेको रकम बचत गर्नेभन्दा आम्दानी प्राप्त भएपछि निश्चित रकम छुट्याउने बानी बसाल्नुहोस्।
सानो लक्ष्यबाट सुरु गर्ने : सुरुमा एक महिनाको आवश्यक खर्च बराबर रकम जम्मा गर्ने लक्ष्य राख्नुहोस्। त्यसपछि तीन महिना र क्रमशः छ महिनाको लक्ष्यतर्फ बढ्नुहोस्।
अनावश्यक खर्च घटाउने : दैनिक साना खर्चको हिसाब राख्दा नियन्त्रण गर्न सकिने क्षेत्र पहिचान हुन्छ।
अतिरिक्त आम्दानी उपयोग गर्ने : बोनस, अतिरिक्त कामबाट आएको आम्दानी, चाडपर्व भत्ता वा अन्य अप्रत्याशित आम्दानीको केही हिस्सा कोषमा राख्न सकिन्छ।
नियमितता कायम राख्ने : आम्दानी कम भएको महिनामा कम रकम राख्न सकिन्छ। तर सम्भव भएसम्म बचत गर्ने अभ्यासलाई निरन्तरता दिनु महत्त्वपूर्ण हुन्छ।

मानौँ, तपाईंको परिवारको मासिक आवश्यक खर्च ४० हजार रुपैयाँ छ। तीन महिनाको लक्ष्य एक लाख २० हजार रुपैयाँ हुन्छ। महिनामा पाँच हजार रुपैयाँ छुट्याउन सकियो भने २४ महिनामा यो लक्ष्य पूरा गर्न सकिन्छ। छ महिनाको लक्ष्य दुई लाख ४० हजार रुपैयाँ हो भने सोही दरमा ४८ महिना लाग्छ। ब्याज तथा अन्य अतिरिक्त आम्दानीलाई यस उदाहरणमा समावेश गरिएको छैन।

यसले एउटा कुरा के स्पष्ट पार्छ भने आपत्कालीन कोष एकैपटक तयार हुने रकम होइन। नियमित बचत र समयसँगै निर्माण हुने आर्थिक सुरक्षा हो।

आपत्कालीन कोष कहाँ राख्ने?
आपत्कालीन कोषको सबैभन्दा महत्त्वपूर्ण विशेषता भनेको आवश्यक पर्दा तुरुन्त प्रयोग गर्न सकिनु हो। त्यसैले बढी प्रतिफलको लोभमा यस्तो रकम जोखिमपूर्ण वा लामो समयसम्म झिक्न नमिल्ने ठाउँमा राख्नु उपयुक्त हुँदैन।

बैंक तथा वित्तीय संस्थाको बचत खातामा छुट्टै रकम राख्नु व्यावहारिक विकल्प हुन सक्छ। यस्तो खाताबाट आवश्यक पर्दा रकम झिक्न सकिन्छ र नियमित खर्चसँग नमिसाई राख्न पनि सजिलो हुन्छ। खाता खोल्दा कारोबारको सुविधा, रकम झिक्ने सर्त, शुल्क, ब्याजदर र संस्थाको नियामकीय अवस्था बुझ्नुपर्छ। केही रकम घरमा सुरक्षित रूपमा नगद राख्न सकिन्छ, तर ठूलो रकम घरमै राख्दा चोरी, हराउने वा अन्य जोखिम हुन सक्छ।

नेपालमा निक्षेप तथा कर्जा सुरक्षण कोषले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त सदस्य बैंक तथा वित्तीय संस्थामा प्राकृतिक व्यक्तिको बचत र मुद्दती निक्षेप गरी प्रतिव्यक्ति प्रतिसंस्था पाँच लाख रुपैयाँसम्म निक्षेप सुरक्षण गर्ने व्यवस्था गरेको छ। यो सीमा एउटै संस्थामा रहेको बचत र मुद्दती निक्षेपको संयुक्त रकममा लागू हुन्छ। एउटै संस्थामा धेरै खाता खोल्दैमा प्रत्येक खाताको पाँच लाख रुपैयाँ छुट्टाछुट्टै सुरक्षण हुने होइन।

तर निक्षेप सुरक्षण आपत्कालीन कोष झिक्न सहज हुने व्यवस्थाको विकल्प होइन। मुद्दती निक्षेपमा राखिएको रकम समयअघि झिक्दा लाग्ने सर्त र सम्भावित ब्याजसम्बन्धी असर बुझ्नुपर्छ। शेयर बजार, म्युचुअल फन्ड, घरजग्गा, सुन वा अन्य लगानीमा आपत्कालीन कोषको मुख्य हिस्सा राख्नु उपयुक्त हुँदैन। यस्ता सम्पत्तिको मूल्य घट्न सक्छ वा आवश्यक परेको समयमा तत्काल नगदमा बदल्न कठिन हुन सक्छ। आपत्कालीन कोषको उद्देश्य उच्च प्रतिफल कमाउनु होइन, आवश्यक समयमा रकम उपलब्ध गराउनु हो।

बीमा र आपत्कालीन कोष : दुवै किन चाहिन्छ?
आपत्कालीन कोषले सबै जोखिमको आर्थिक भार धान्न सक्दैन। विशेषगरी ठूलो स्वास्थ्य खर्च, दुर्घटना वा अन्य गम्भीर जोखिममा बीमाले आर्थिक भार कम गर्न सहयोग गर्न सक्छ।

स्वास्थ्य बीमा, जीवन बीमा तथा आवश्यकताअनुसार अन्य बीमा योजनाले जोखिमको केही हिस्सा व्यवस्थापन गर्न मद्दत गर्छन्। तर बीमा छ भन्दैमा आपत्कालीन कोष आवश्यक हुँदैन भन्ने होइन। बीमाले सबै खर्च वा सबै अवस्था समेट्न नपाउन सक्छ। दाबी भुक्तानीमा पनि समय लाग्न सक्छ। उपचारका क्रममा तत्काल चाहिने रकम, बीमा दाबी नपर्ने खर्च वा आम्दानी रोकिएको अवधिको घरखर्चका लागि नगद आवश्यक पर्न सक्छ।

त्यसैले बीमा र आपत्कालीन कोष एकअर्काका विकल्प होइनन्, पूरक हुन्। बीमाले ठूलो आर्थिक जोखिमको भार घटाउँछ भने आपत्कालीन कोषले तत्काल आवश्यक पर्ने रकम उपलब्ध गराउन सहयोग गर्छ।

कुन अवस्थामा प्रयोग गर्ने?
आपत्कालीन कोष छुट्याउनु जति महत्त्वपूर्ण छ, यसको प्रयोगबारे स्पष्ट नियम बनाउनु पनि उत्तिकै आवश्यक छ। नत्र सामान्य खर्च बढ्नेबित्तिकै कोष प्रयोग हुने र वास्तविक संकटका बेला रकम नहुने जोखिम रहन्छ।

जागिर गुम्नु, व्यवसाय बन्द हुनु, गम्भीर बिरामी वा दुर्घटनाका कारण आम्दानी रोकिनु, आकस्मिक उपचार खर्च आउनु वा घरमा तत्काल मर्मत गर्नुपर्ने गम्भीर समस्या आउनु यस कोष प्रयोग गर्नुपर्ने अवस्था हुन सक्छन्। तर, चाडपर्वमा महँगो किनमेल गर्नु, घुम्न जानु, नयाँ मोबाइल किन्नु वा पहिल्यै योजना बनाउन सकिने खर्चलाई आपत्कालीन खर्च मान्नु हुँदैन। यस्ता खर्चका लागि छुट्टै बचत योजना बनाउनुपर्छ।

आपत्कालीन कोष प्रयोग गर्नुअघि आफूलाई तीन प्रश्न सोध्नु उपयोगी हुन्छ :

१. यो खर्च साँच्चै अप्रत्याशित हो?
२. यो खर्च अहिले नै गर्न आवश्यक छ?
३. यो खर्च नगर्दा परिवारको स्वास्थ्य, सुरक्षा वा आम्दानीमा गम्भीर असर पर्छ?

यी प्रश्नको जवाफले कोषको प्रयोग उचित छ कि छैन भन्ने निर्णय गर्न सहयोग गर्छ।

खर्च गरेपछि फेरि कसरी जम्मा गर्ने?
आपत्कालीन कोष एकपटक बनाएपछि सधैँ पूरा रहन्छ भन्ने हुँदैन। वास्तविक संकटमा यसको प्रयोग गर्नुपर्ने हुन सक्छ। त्यसैले प्रयोग भएको रकम पुनः जम्मा गर्ने योजना पनि पहिल्यै बनाउनुपर्छ।

उदाहरणका लागि, तीन महिनाको खर्च बराबर एक लाख २० हजार रुपैयाँ जम्मा भएको परिवारले उपचारका लागि ३० हजार रुपैयाँ खर्च गर्‍यो भने कोषमा ९० हजार रुपैयाँ बाँकी रहन्छ। अब त्यसलाई फेरि एक लाख २० हजार रुपैयाँ पुर्‍याउने लक्ष्य राख्नुपर्छ।

यसका लागि मासिक बजेटमा कोष पुनः भर्ने रकम समावेश गर्न सकिन्छ। आम्दानी बढेको अवस्थामा वा अतिरिक्त आम्दानी प्राप्त हुँदा त्यसको केही हिस्सा पनि प्रयोग गर्न सकिन्छ। अर्को संकट आउनुअघि कोषलाई पुनः पुरानै लक्ष्यमा पुर्‍याउनु महत्त्वपूर्ण हुन्छ।

आजैबाट आफ्नो आपत्कालीन कोषको योजना बनाउनुहोस् 
आर्थिक सुरक्षाका लागि ठूलो आम्दानी हुनैपर्छ भन्ने छैन। आम्दानीको सही व्यवस्थापन, खर्चको पहिचान र नियमित बचत गर्ने बानीले पनि संकटको सामना गर्ने क्षमता बढाउन सक्छ। आजै आफ्नो परिवारको मासिक आवश्यक खर्चको हिसाब निकाल्नुहोस्। त्यसलाई तीनले गुणा गरेर पहिलो लक्ष्य निर्धारण गर्नुहोस्। त्यसपछि आफ्नो आम्दानी र खर्चअनुसार मासिक रूपमा कति रकम छुट्याउन सकिन्छ भन्ने निर्णय गर्नुहोस्।

एकैपटक तीन वा छ महिनाको रकम जम्मा गर्न नसकिए पनि निराश हुनुपर्ने कारण छैन। पहिलो लक्ष्य एक महिनाको खर्च बराबर कोष बनाउनुहोस्। त्यसपछि क्रमशः बढाउँदै लैजानुहोस्।

आफ्नो आपत्कालीन कोषको हिसाब आफैँ गर्नुहोस्

विवरण तपाईंको हिसाब
मासिक आवश्यक खर्च रु. ..........
तीन महिनाको लक्ष्य रु. ..........
छ महिनाको लक्ष्य रु. ..........
अहिले जम्मा भएको रकम रु. ..........
थप जम्मा गर्नुपर्ने रकम रु. ..........
प्रत्येक महिना छुट्याउन सकिने रकम रु. ..........

यो हिसाब गरेपछि आफ्नो लक्ष्यअनुसार कति समय लाग्छ भन्ने पनि निकाल्नुहोस्। उदाहरणका लागि, थप एक लाख २० हजार रुपैयाँ जम्मा गर्नुपर्ने छ र महिनामा पाँच हजार रुपैयाँ छुट्याउन सकिन्छ भने लक्ष्य पूरा गर्न २४ महिना लाग्छ। आफ्नो आर्थिक अवस्थाअनुसार सानो लक्ष्यबाट सुरु गर्नुहोस्। नियमित रूपमा बचत गर्दै जानुहोस् र आम्दानी वा खर्चमा परिवर्तन हुँदा लक्ष्य पनि पुनरावलोकन गर्नुहोस्।

आर्थिक संकट आउँदा सबैभन्दा ठूलो समस्या पैसा कम हुनु मात्र होइन, त्यसका लागि तयारी नहुनु पनि हो। आपत्कालीन कोषले हरेक समस्या समाधान गर्दैन, तर समस्याको सामना गर्न समय र विकल्प उपलब्ध गराउँछ। संकटका बेला महँगो ब्याजमा ऋण लिनुपर्ने बाध्यता कम गर्न र दीर्घकालीन बचत वा लगानी भत्काउनुपर्ने अवस्था टार्न यसले सहयोग गर्न सक्छ।

अत: आपत्कालीन कोष भनेको अप्रत्याशित खर्च वा आम्दानी रोकिएको अवस्थामा प्रयोग गर्ने छुट्टै रकम हो। सामान्य मार्गदर्शकका रूपमा तीनदेखि छ महिनाको आवश्यक खर्च बराबर कोष बनाउने लक्ष्य राख्न सकिन्छ। कोषको आकार आम्दानीको स्थिरता, परिवारको दायित्व र ऋणको अवस्थाअनुसार निर्धारण गर्नुपर्छ। थोरै रकमबाट सुरु गरेर नियमित बचत गर्दा पनि कोष निर्माण गर्न सकिन्छ। यस्तो रकम सुरक्षित र आवश्यक पर्दा सहजै झिक्न सकिने ठाउँमा राख्नुपर्छ। बीमा र आपत्कालीन कोषले फरक–फरक जोखिम व्यवस्थापन गर्छन्। दुवैको आफ्नै महत्त्व छ। कोष प्रयोग भएपछि पुनः पुरानै लक्ष्यमा पुर्‍याउने योजना बनाउनुपर्छ। याद राख्नुहोस्, आम्दानी हुँदा बचत गर्नु राम्रो बानी हो; आम्दानी रोकिँदा पनि परिवारको जीवन चलाउन सक्ने गरी बचत तयार गर्नु आर्थिक सुरक्षा हो। 

अस्वीकरण : यो सामग्री सामान्य वित्तीय साक्षरताका लागि तयार गरिएको हो। व्यक्तिगत आर्थिक निर्णय गर्दा आफ्नो आम्दानी, खर्च, ऋण, जोखिम वहन क्षमता र वित्तीय अवस्थालाई ध्यानमा राखी निर्णय लिनु उपयुक्त हुन्छ।

पैसाको पाठशाला: तपाईंको पैसा कहाँ जान्छ? (अंक १) पैसाको पाठशाला: तपाईंको पैसा कहाँ जान्छ? (अंक १) पैसाको पाठशाला: बचत कसरी सुरु गर्ने? यस्तो छ थोरै आम्दानीबाट पनि पैसा जोगाउने व्यवहारिक तरिका (अंक २) पैसाको पाठशाला: बचत कसरी सुरु गर्ने? यस्तो छ थोरै आम्दानीबाट पनि पैसा जोगाउने व्यवहारिक तरिका (अंक २) पैसाको पाठशाला: बजेट कसरी बनाउने? (अंक ३) पैसाको पाठशाला: बजेट कसरी बनाउने? (अंक ३) पैसाको पाठशाला: पैसा कहाँ बढ्छ? बचत गरेको पैसा बैंकमा राख्ने कि लगानी गर्ने?  (अंक ४) पैसाको पाठशाला: पैसा कहाँ बढ्छ? बचत गरेको पैसा बैंकमा राख्ने कि लगानी गर्ने? (अंक ४) पैसाको पाठशाला: भोलि आम्दानी रोकियो भने तपाईं कति महिना टिक्न सक्नुहुन्छ? (अंक ५) पैसाको पाठशाला: भोलि आम्दानी रोकियो भने तपाईं कति महिना टिक्न सक्नुहुन्छ? (अंक ५)

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images