कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विश्वव्यापी विस्तारसँगै सेमिकन्डक्टर तथा मेमोरी चिपको माग बढ्दा दक्षिण कोरियाको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । अक्टोबर महिनामा दक्षिण कोरियाको आईसीटी उत्पादनको निर्यात गत वर्षको सोही अवधिको तुलनामा २०२ प्रतिशतले बढेर ७० अर्ब ३५ करोड अमेरिकी डलर पुगेको छ ।
दक्षिण कोरियाको उद्योग, व्यापार तथा स्रोत मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार देशको कुल निर्यातमा आईसीटी क्षेत्रको हिस्सा ६१ प्रतिशत पुगेको छ । यसले दक्षिण कोरियाको अर्थतन्त्र र निर्यात वृद्धिमा प्रविधि क्षेत्रको बढ्दो महत्वलाई देखाएको छ ।
तथ्यांकअनुसार अक्टोबरमा सेमिकन्डक्टरको निर्यात सबैभन्दा बढी २५९.४ प्रतिशतले वृद्धि भई ५६ अर्ब ४७ करोड डलर पुगेको छ । विश्वभर एआई डाटा सेन्टर तथा पूर्वाधार निर्माणमा लगानी बढेसँगै उच्च क्षमताका मेमोरी चिपको माग तीव्र बनेको र मूल्यसमेत बढेकाले निर्यातमा ठूलो सुधार आएको हो ।
त्यस्तै, ओएलईडी प्रविधिमा आधारित डिस्प्ले प्यानलको निर्यात २३.६ प्रतिशतले बढेर दुई अर्ब तीन करोड डलर पुगेको छ । प्रिमियम स्मार्टफोनको बिक्रीमा सुधार आएसँगै मोबाइल फोनको निर्यात पनि ६.५ प्रतिशतले वृद्धि भई एक अर्ब ७१ करोड डलर पुगेको छ ।
कम्प्युटर तथा सहायक उपकरणको निर्यातमा भने सबैभन्दा उच्च वृद्धि देखिएको छ । एआई डाटा सेन्टरमा प्रयोग हुने सोलिड स्टेट ड्राइभ (एसएसडी) को माग बढ्दा यस क्षेत्रको निर्यात ४३९.३ प्रतिशतले उकालो लागेर पाँच अर्ब ९९ करोड डलर पुगेको छ । त्यस्तै, सञ्चार उपकरणको निर्यात २६.५ प्रतिशतले बढेर २३ करोड डलर पुगेको मन्त्रालयले जनाएको छ ।
यसैबीच, अक्टोबरमा दक्षिण कोरियाको आईसीटी उत्पादनको आयात पनि ५२.७ प्रतिशतले वृद्धि भई १९ अर्ब ८० करोड डलर पुगेको छ । यद्यपि, निर्यातमा भएको तीव्र वृद्धिका कारण आईसीटी क्षेत्रको व्यापार बचत ५० अर्ब ५५ करोड डलर पुगेको छ ।
एआई पूर्वाधारमा विश्वव्यापी रूपमा बढिरहेको लगानीले दक्षिण कोरियाको प्रविधि उद्योगलाई थप गति दिएको देखिन्छ । विशेषगरी मेमोरी चिप र डाटा स्टोरेज उपकरणको बढ्दो मागले दक्षिण कोरियाको निर्यात वृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको छ ।
प्रतिक्रिया दिनुहोस