त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनमा भएको ढिलाइका कारण तीनवर्षे एलएलबी अध्ययनको अवसर गुमेको भन्दै एक विद्यार्थीले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्।
मोरङको लेटाङ निवासी योगराज दाहालले बीए उत्तीर्ण भए पनि त्रिविले नतिजा ढिलो सार्वजनिक गर्दा चालु शैक्षिक सत्रको एलएलबी प्रवेश परीक्षा दिन नपाएको भन्दै आयोगमा उजुरी दिएका हुन्। दाहालका अनुसार उनले २०८२ भदौ १३ गते बीए प्रथम वर्षको आंशिक परीक्षाका लागि फारम भरेका थिए। उक्त परीक्षा २०८३ जेठ १८ देखि २७ गतेसम्म सञ्चालन भएको थियो। तर, त्रिविले परीक्षाको नतिजा भदौ २२ गते मात्रै सार्वजनिक गरेको थियो।
यसबीच २०८३ जेठ २९ गते नै तीनवर्षे एलएलबीको प्रवेश परीक्षा सम्पन्न भइसकेकाले आफू प्रवेश परीक्षामा सहभागी हुनबाट वञ्चित भएको उनको भनाइ छ। त्रिविको प्रशासनिक ढिलासुस्तीका कारण आफ्नो शैक्षिक भविष्य अन्योलमा परेको उल्लेख गर्दै दाहालले विशेष वा पूरक प्रवेश परीक्षा सञ्चालन गरी एलएलबी अध्ययनको अवसर सुनिश्चित गर्न आयोगसँग माग गरेका छन्।
यसअघि पनि उनले हेलो सरकारमार्फत १० पटक उजुरी गर्नुका साथै शिक्षा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिएका थिए। तर, अहिलेसम्म समस्या समाधान नभएको उनको गुनासो छ। चालु शैक्षिक सत्र समाप्त हुनुअघि नै आफ्नो समस्याको छानबिन गरी न्यायोचित रूपमा प्रतिस्पर्धामा सहभागी हुने अवसर उपलब्ध गराउन उनले आयोगसँग आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस