हिमताल विस्फोटबाट भोटेकोशीमा आएको बाढी (GLOF) का कारण घर र घरभित्रका सामग्री गुमाएका नुवाकोटका परिवारलाई टाटा समूह र सिप्रदियन सहायता संस्थाले २ हजार थान स्टिल दराज वितरण गरेका छन्। ‘एक टाटा नेपाल GLOF विपद् प्रतिकार्य कार्यक्रम २०२६’ अन्तर्गत प्रभावित परिवारको दैनिक जीवन सहज बनाउन र दीर्घकालीन पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले दराज हस्तान्तरण गरिएको हो।
टाटा समूह र सिप्रदियन सहायता संस्था (SSS) को सहकार्यमा सञ्चालन गरिएको यो कार्यक्रम तत्कालीन राहतभन्दा अगाडि बढेर प्रभावित परिवारको घरायसी आवश्यकता सम्बोधन गर्ने प्रयासका रूपमा अघि सारिएको छ। बाढीका कारण घर तथा घरभित्रका सम्पूर्ण सामग्री गुमाएका परिवारलाई दैनिक उपयोगका वस्तु सुरक्षित राख्न दराजले सहयोग पुग्ने अपेक्षा गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) का प्रमुख कार्यकारी अधिकृत डा. धर्मराज उप्रेती तथा नेपाल सरकारको मार्गदर्शनमा कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ। प्रभावित समुदायको दीर्घकालीन पुनर्स्थापनाका लागि भइरहेको बृहत् प्रयासको एक हिस्साका रूपमा दराज वितरण गरिएको हो।
दराज हस्तान्तरण कार्यक्रममा टाटा सन्सका समूह प्रमुख दिगोपना अधिकृत चाको थोमस, सिप्रदियन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु प्रसाद दाहाल, टाटा सस्टेनेबिलिटी ग्रुपका एभीपी–एसएस श्रीरंग धवले, सिप्रदीका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत तथा निर्देशक राजेश प्रसाद गिरी र वरिष्ठ उपाध्यक्ष सौरभ राज थापालियाको उपस्थिति थियो।
त्यस्तै, विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटीलगायत विभिन्न प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरू पनि कार्यक्रममा सहभागी थिए।
कार्यक्रममा बोल्दै टाटा सन्सका समूह प्रमुख दिगोपना अधिकृत चाको थोमसले विपद् प्रतिकार्य तत्काल राहतमा मात्र सीमित हुन नहुने बताए। प्रभावित परिवारको आत्मसम्मान पुनःस्थापना, जनजीवनलाई सामान्य अवस्थामा फर्काउने र सुरक्षित भविष्य निर्माणमा सहयोग गर्नु पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।
‘एक टाटा नेपाल GLOF विपद् प्रतिकार्य कार्यक्रम’ मार्फत टाटा समूह, यसका कर्मचारी तथा सिप्रदी समूह नुवाकोटका प्रभावित नागरिकको पुनर्स्थापना यात्रामा निरन्तर साथ दिन प्रतिबद्ध रहेको उनले बताए।
त्यसैगरी, सिप्रदियन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु प्रसाद दाहालले सामाजिक उत्तरदायित्व व्यवसायमा मात्र सीमित नहुने बताए। वास्तविक आवश्यकता भएका व्यक्तिसम्म अर्थपूर्ण सहयोग पुर्याउनु संस्थाको उद्देश्य रहेको उल्लेख गर्दै उनले कठिन परिस्थितिमा रहेका समुदायसँग साथमा उभिने प्रतिबद्धता व्यक्त गरे।
उनका अनुसार यस्ता पहलले समावेशी र विपद् सामना गर्न सक्षम समाज निर्माणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस