नेपालको परम्परागत इँटा उद्योगलाई आधुनिक तथा वातावरणमैत्री प्रविधिमा रूपान्तरण गर्न ६ करोड अमेरिकी डलर (करिब ९ अर्ब रुपैयाँ) बराबरको कार्बन वित्त परिचालन गर्ने योजना अघि बढाइएको छ।
दिवाकर गोल्छा अर्गनाइजेसनअन्तर्गतको हुलास इको ब्रिक्स र जलवायु प्रविधि विकास गर्ने कम्पनी इनोसिएसआरको सहकार्यमा उक्त योजना अघि बढाउन लागिएको हो।
योजनाअन्तर्गत आगामी तीन वर्षभित्र देशभर ३०० वटा आधुनिक इँटा उत्पादन केन्द्र स्थापना गर्ने लक्ष्य राखिएको छ। दिवाकर गोल्छा अर्गनाइजेसनका निर्देशक हितेश गोल्छाका अनुसार प्रत्येक उद्योगलाई करिब २ लाख अमेरिकी डलर मूल्य पर्ने आधुनिक मेसिन उपलब्ध गराइनेछ। मेसिन उपलब्ध गराएको १० वर्षपछि त्यसको स्वामित्व सम्बन्धित उद्योगीलाई हस्तान्तरण गरिनेछ।
यो कार्यक्रम सञ्चालनमा रहेका इँटा उद्योगलाई विस्थापित गर्ने नभई उनीहरूलाई निःशुल्क नयाँ प्रविधि उपलब्ध गराएर आधुनिक बनाउने उद्देश्यले ल्याइएको हो।
इनोसिएसआर नेपालका प्रबन्ध निर्देशक पङ्कज पाण्डेका अनुसार कार्यक्रमका लागि अन्तर्राष्ट्रिय कार्बन क्रेडिट खरिदकर्ता, जलवायु कोष तथा वित्तीय संस्थाबाट रकम जुटाइनेछ। यसले नयाँ प्रविधि अपनाउन उद्योगीले गर्नुपर्ने ठूलो प्रारम्भिक लगानीको भार घटाउने अपेक्षा गरिएको छ।
कार्बन क्रेडिटबाट लगानी जुटाइने
यस कार्यक्रमको मुख्य वित्तीय आधार कार्बन क्रेडिट रहनेछ। परम्परागत इँटा उत्पादनको तुलनामा नयाँ प्रविधि प्रयोग गर्दा घट्ने हरितगृह ग्यास उत्सर्जन मापन गरी त्यसलाई कार्बन क्रेडिटमा रूपान्तरण गरिनेछ।
उत्सर्जन न्यूनीकरणको अनुगमन, मापन तथा प्रमाणीकरणपछि प्राप्त कार्बन क्रेडिट अन्तर्राष्ट्रिय बजारमा बिक्री गरिनेछ। त्यसबाट प्राप्त आम्दानीलाई परियोजनाको वित्तीय स्रोतका रूपमा प्रयोग गर्ने योजना छ।
वार्षिक १५ लाख टन कार्बन उत्सर्जन घटाउने लक्ष्य
कम्पनीका अनुसार प्रस्तावित ३०० वटा उत्पादन केन्द्र पूर्ण क्षमतामा सञ्चालनमा आएपछि वार्षिक करिब तीन अर्ब इँटा उत्पादन गर्न सकिनेछ। यसबाट परम्परागत इँटाभट्टाको तुलनामा वार्षिक करिब १५ लाख टन कार्बनडाइअक्साइड उत्सर्जन घटाउने प्रारम्भिक अनुमान गरिएको छ।
नेपालमा वार्षिक चारदेखि पाँच अर्बवटा इँटाको माग रहेको अनुमान छ। यस्तो अवस्थामा नयाँ प्रविधिको विस्तारले निर्माण सामग्री उत्पादनलाई वातावरणमैत्री बनाउनुका साथै उद्योगको उत्पादन क्षमता बढाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
के हो गुड ब्रिक्स प्रविधि?
गुड ब्रिक्स प्रविधिमा परम्परागत इँटाजस्तो भट्टामा पोल्नुपर्ने आवश्यकता पर्दैन। स्थानीय माटो, सिमेन्ट र विशेष पदार्थ ‘गुड सोइल स्टेबलाइजर’ मिसाएर हाइड्रोलिक प्रेस मेसिनको उच्च दबाबमार्फत इँटाको आकार दिइन्छ।
यस प्रविधिले कोइलाको खपत घटाउनुका साथै इँटा उत्पादनका क्रममा हुने वायु प्रदूषण र कार्बन उत्सर्जन न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ। कम्पनीका अनुसार यो प्रविधिबाट उत्पादन हुने इँटा गुणस्तर, उत्पादन क्षमता र लागतका हिसाबले परम्परागत इँटासँग प्रतिस्पर्धा गर्न सक्ने गरी विकास गरिएको छ।
इनोसिएसआरले यसअघि नै गोरखाको च्याङ्लिङटार, सुर्खेतको शान्तिचौर र जाजरकोटको राउतगाउँमा यस प्रविधिमा आधारित उत्पादन केन्द्र स्थापना गरिसकेको जनाएको छ।
हुलास इको ब्रिक्स र इनोसिएसआरबीच सन् २०२६ अगस्टमा प्रविधि विस्तारसम्बन्धी सम्झौता भएको थियो। अब देशभरका इँटा उद्योगलाई नयाँ प्रविधिमा आबद्ध गराउँदै उत्पादन विस्तार गर्ने योजना रहेको छ।
प्रतिक्रिया दिनुहोस