२०८३, मंसिर ५ गते

images

साइबर ठगीमा परे तत्काल १२४७ मा फोन गर्न राष्ट्र बैंकको आग्रह

शुक्रवार , मंसिर ४, २०८३

अनलाइन कारोबार, डिजिटल भुक्तानी वा नक्कली लिङ्कमार्फत ठगीमा पर्नुभएको छ? अब यस्तो घटनाको उजुरीका लागि नेपाल राष्ट्र बैंकले १२४७ नम्बर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले साइबर तथा डिजिटल वित्तीय ठगीमा परे तत्काल उक्त नम्बरमा सम्पर्क गरी उजुरी गर्न नागरिकलाई आग्रह गरेको छ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले साइबर तथा डिजिटल वित्तीय ठगीसम्बन्धी गुनासो र उजुरी सम्बोधन गर्न स्थापना गरिएको एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रको हटलाइन नम्बर सार्वजनिक गरेको हो।

राष्ट्र बैंकका अनुसार उक्त केन्द्रमा प्रहरी प्रधान कार्यालय, नेपाल प्रहरीको साइबर ब्युरो तथा विभिन्न सरोकारवाला निकायको सहभागिता छ। केन्द्रमार्फत साइबर तथा डिजिटल वित्तीय ठगीका घटनामा समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाउने व्यवस्था गरिएको छ।

अनलाइन ठगी, फिसिङ, नक्कली लिङ्क, अनधिकृत कारोबार वा डिजिटल भुक्तानीसम्बन्धी ठगीमा परे तत्काल १२४७ मा सम्पर्क गरी जानकारी गराउन राष्ट्र बैंकले आग्रह गरेको छ।

ठगीमा परेको अवस्थामा हटलाइनमा उजुरी गर्नुका साथै आफ्नो बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई पनि तत्काल जानकारी गराउन राष्ट्र बैंकले अनुरोध गरेको छ। यसबाट बैंक खाता तथा डिजिटल वालेट सुरक्षित राख्न र सम्भावित थप क्षति रोक्न आवश्यक प्रक्रिया अघि बढाउन सकिन्छ।

राष्ट्र बैंकले डिजिटल कारोबार गर्दा अपरिचित लिङ्क नखोल्न, ओटीपी, पासवर्ड तथा गोप्य विवरण अरूलाई नदिन र शंकास्पद कारोबार देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन पनि आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images