नेपाल सरकारको युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा देशका छ वटा प्रदेशमा ‘सीप तथा रोजगार मेला, २०८३’ सञ्चालन हुने भएको छ।
रोजगार खोजकर्ता र रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क स्थापित गरी रोजगारीका अवसर सिर्जना गर्ने तथा उद्योग व्यवसायको वास्तविक जनशक्ति आवश्यकताअनुसार दक्ष जनशक्ति विकास गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो।
यससम्बन्धी सम्झौतापत्रमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव, मन्त्रालयका सचिव डा. दीपक काफ्ले तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठको उपस्थितिमा हस्ताक्षर भएको छ।
सम्झौतापत्रमा मन्त्रालयका तर्फबाट सहसचिव तथा युवा महाशाखा प्रमुख हेमराज तामाङ र महासंघका तर्फबाट उपाध्यक्ष तथा रोजगार परिषद्का उपाध्यक्ष प्रबलजंग पाण्डेले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार मन्त्रालयले मेलाको नीतिगत नेतृत्व, सरकारी निकायसँगको समन्वय, सहजीकरण तथा रोजगारसम्बन्धी डिजिटल प्रणाली सञ्चालन गर्नेछ। महासंघले भने मेलाको समग्र व्यवस्थापन, सञ्चालन तथा कार्यान्वयनको जिम्मेवारी लिनेछ।
यसका लागि महासंघले आवश्यक सचिवालय स्थापना गरी रोजगारदाता परिचालन, भौतिक तथा प्राविधिक पूर्वाधार व्यवस्थापन, कार्यक्रम सञ्चालन र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्नेछ।
नेपाल सरकारले आर्थिक वर्ष २०८३/०८४ देखि २०९२/०९३ सम्मको अवधिलाई रोजगार प्रवर्द्धन दशकका रूपमा अघि बढाएको छ। सोही अभियानअन्तर्गत आन्तरिक रोजगारीका अवसर विस्तार गर्ने, श्रम बजारको मागअनुसार दक्ष जनशक्ति विकास गर्ने र सीपयुक्त जनशक्तिलाई रोजगारीमा आबद्ध गराउने लक्ष्य राखिएको महासंघका उपाध्यक्ष तथा रोजगार परिषद्का सभापति प्रबलजंग पाण्डेले जानकारी दिएका छन्।
मेलामा विभिन्न उद्योग, व्यवसाय तथा प्रतिष्ठानका रोजगारदातालाई सहभागी गराई उनीहरूका वास्तविक रिक्त पद र आवश्यक जनशक्तिको विवरण संकलन गरिनेछ। सोही विवरणका आधारमा रोजगार खोजकर्ताबाट आवेदन संकलन गरी मेलास्थलमै प्रत्यक्ष अन्तर्वार्ता, प्रारम्भिक छनोट तथा रोजगार मिलानको व्यवस्था गरिनेछ।
त्यस्तै, रोजगारदाताको माग र श्रम बजारको आवश्यकताका आधारमा प्रत्येक प्रदेशमा विभिन्न विधाका १० वटा प्राविधिक तथा व्यावसायिक तालिम सञ्चालन गरिनेछ। तालिम प्रदायक निकायको नेतृत्वमा सञ्चालन हुने कार्यक्रममा आवश्यक पूर्वाधार तथा व्यवस्थापकीय सहयोग महासंघले उपलब्ध गराउनेछ।
मेलाबाट सिर्जना भएका रोजगारीका अवसरलाई कार्यक्रम सम्पन्न भएपछि पनि निरन्तरता दिइने व्यवस्था मिलाइनेछ। यसका लागि मन्त्रालय, महासंघ, श्रम तथा रोजगार कार्यालय, स्थानीय तहका रोजगार, सीप तथा उद्यमशीलता केन्द्र र रोजगारदाताबीच समन्वय गरिनेछ।
कार्यक्रममा प्रदेश सरकार, स्थानीय तह, उद्योग वाणिज्य संघ, निजी क्षेत्र, तालिम प्रदायक संस्था तथा विकास साझेदारको सहभागिता रहनेछ। सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई प्रभावकारी बनाउँदै सीपयुक्त जनशक्ति उत्पादन, आन्तरिक रोजगारी प्रवर्द्धन तथा उद्योग व्यवसायको जनशक्ति आवश्यकता पूरा गर्न रोजगार मेला महत्वपूर्ण हुने महासंघले विश्वास लिएको छ।
प्रतिक्रिया दिनुहोस