उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले नेपालको आर्थिक समृद्धिका लागि आयात बढाउनेभन्दा स्वदेशी उत्पादन वृद्धि गर्नुपर्ने बताएका छन्। उनले कृषि उत्पादन र उत्पादकत्व बढाएर आयात प्रतिस्थापन गर्न सकिने भन्दै कृषि क्षेत्रमा आधुनिक प्रविधि र यान्त्रीकरणको प्रयोग विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।
आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले परम्परागत खेती प्रणालीलाई आधुनिक, व्यावसायिक र प्रविधिमैत्री बनाउन कृषि यान्त्रीकरण आवश्यक रहेको बताए।
भन्सार विभागको तथ्याङ्क उद्धृत गर्दै उनले आर्थिक वर्ष २०८२/८३ मा खाद्य तथा कृषिजन्य वस्तुको आयात करिब ४ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको जानकारी दिए। धान, चामल, तरकारी तथा फलफूललगायत कृषि उपजको स्वदेशी उत्पादन बढाउने ठूलो सम्भावना रहेको उनको भनाइ थियो।
‘किसानलाई भाषण होइन, प्रविधि चाहिएको छ। आश्वासन होइन, उत्पादन बढाउने साधन चाहिएको छ,’ उनले भने, ‘परम्परागत खेती प्रणालीबाट आधुनिक, व्यावसायिक र प्रविधिमैत्री कृषिमा रूपान्तरण गर्नुपर्छ। त्यसको महत्वपूर्ण आधार कृषि यान्त्रीकरण हो।’
आफू किसानको छोरो र मेकानिकल इन्जिनियरसमेत भएकाले कृषि यान्त्रीकरणको विषय व्यक्तिगत रूपमा पनि महत्वपूर्ण रहेको उनले बताए। किसानको श्रम, खेतीपातीका कठिनाइ र उत्पादनको सङ्घर्ष नजिकबाट बुझेको उल्लेख गर्दै उनले प्रविधिको प्रयोगले किसानको जीवनस्तरमा परिवर्तन ल्याउन सक्ने धारणा राखे।
मन्त्री साहले कृषि यान्त्रीकरणलाई कृषि र उद्योग जोड्ने महत्वपूर्ण आर्थिक क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताए। नेपालमै कृषि औजार, मेसिन, पार्टपुर्जा तथा प्रविधि उत्पादन गर्ने उद्योग स्थापना गर्नुपर्नेमा जोड दिँदै उनले स्वदेशी कृषि मेसिनरी उत्पादनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।
उनले नेपालमै कृषि उपकरण उत्पादन, एसेम्बली तथा पार्टपुर्जा निर्माण गर्ने उद्योगलाई प्रोत्साहन गर्न नीतिगत र प्रक्रियागत सहजीकरण गरिने बताए। कृषि मेसिनरी उद्योगमा देखिएका नीतिगत, भन्सार तथा प्रक्रियागत समस्या समाधानका लागि सम्बन्धित मन्त्रालय, सरकारी निकाय र निजी क्षेत्रसँग संवाद गर्ने उनको भनाइ थियो।
नेपाली भूगोल र किसानको आर्थिक क्षमताअनुसार साना, किफायती, टिकाउ तथा सहजै मर्मत गर्न सकिने कृषि उपकरण उत्पादन गर्ने उद्यमलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए। व्यवसायीलाई आयात र वितरणमा मात्रै सीमित नभई स्वदेशी उत्पादन, अनुसन्धान, प्रविधि हस्तान्तरण तथा नवप्रवर्तनमा लगानी बढाउन पनि आग्रह गरे।
प्रदर्शनीमा सयभन्दा बढी कम्पनी तथा संघसंस्थाको सहभागिता, दुई हजारभन्दा बढी कृषि यन्त्र तथा प्रविधिको प्रदर्शन र ५० हजारभन्दा बढी किसानको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ।
मन्त्री साहले प्रदर्शनीलाई प्रविधि, लगानी, बजार तथा सहकार्य विस्तार गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए। ‘किसान समृद्ध नभएसम्म देश समृद्ध हुँदैन। स्वदेशी उत्पादन बलियो नभएसम्म अर्थतन्त्र बलियो हुँदैन र कृषि यान्त्रीकरणबिना नेपालको कृषि रूपान्तरण सम्भव छैन,’ उनले भने।
उनले नेपाल कृषि मेसिनरी व्यवसायी संघका सदस्य तथा व्यवसायीलाई कृषि यान्त्रीकरणमार्फत देशको आर्थिक आत्मनिर्भरतामा योगदान गर्न आग्रह गर्दै सरकारले आवश्यक नीतिगत सहजीकरण र प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस