नेपाल प्रहरीले तल्लो तहका प्रहरी कर्मचारीका समस्या, कठिनाइ तथा गुनासो सुनुवाइ गर्न केन्द्रीय गुनासो व्यवस्थापन डेस्क स्थापना गरेको छ।
प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले शुक्रबार उक्त डेस्कको उद्घाटन गरेका हुन्। डेस्कको शुभारम्भसँगै प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका ५४ हजार १२२ जना कर्मचारीको मोबाइलमा एकैपटक गुनासा दर्ता गर्न सकिने विद्युतीय फारामको लिंक पठाइएको छ।
प्रहरी महानिरीक्षक केसीले एक प्रहरी कर्मचारीसँग प्रत्यक्ष टेलिफोन संवाद गरी उनको गुनासो सुनेपछि डेस्कको औपचारिक उद्घाटन गरेका थिए। प्रहरी नियमावली, २०७१ को नियम १९६ अनुसार स्थापना गरिएको उक्त डेस्कको मुख्य उद्देश्य तल्लो तहका प्रहरी कर्मचारीको पेसागत तथा सेवागत जीवनलाई सुरक्षित, सम्मानित र न्यायोचित बनाउनु रहेको छ।
प्रहरी महानिरीक्षक केसीले कर्मचारीले भोग्नुपरेका समस्या, कठिनाइ, असमान व्यवहार, विभेद तथा अन्य गुनासोको निष्पक्ष सुनुवाइ गरी समयमै सम्बोधन गर्न डेस्कमा खटिएका अधिकारीलाई निर्देशन दिएका छन्।
यस व्यवस्थाले नेपाल प्रहरीभित्र तल्लो तहका कर्मचारीका समस्या तथा गुनासो सम्बोधन गर्न प्रभावकारी संयन्त्रका रूपमा काम गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस